मध्यवर्ती क्षेत्रकी कौशिला मोक्तान १० वर्षदेखि वन्यजन्तु संरक्षणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायिक वनको छेउमै कौशिला मोक्तानको घर छ । उनी सानै हुँदा देखि नै उनको जन्मघर मकवानपुरको मनहरीमा मानव–वन्यजन्तु बीच द्वन्द्व हुन्थ्यो । उनलाई अझैपनि याद छ, आफ्नो परिवारले लगाएको सबै खेतिमा वन्यजन्तुले रजाईँ गर्थे । वन क्षेत्रको छेउमै वस्ती भएपछि वन्यजन्तु वस्तीमा नपस्ने त कुरै भएन ।

जनावर बस्तीमा पसेपछि समुदाय नै आफ्नो बचाउमा जनावर धपाउन अनेक विधि अपनाउन थाल्थे । तर, मोक्तानलाई भने जंगली जनावर प्रति माया लाग्थ्यो । प्रकृतिलाई माया गर्ने उनी वन्यजन्तु संरक्षणमा लाग्नुपर्छ भन्ने भान हुन्थ्यो ।

उनलाई एकदमै प्रकृतिमा रमाउन मनपर्छ । सोही अनुसार २०६९ सालमा लोकसेवा मार्फत उनी निकुञ्जको जागिरमा प्रवेश गरिन् । निकुञ्जमा प्रवेश गर्नुपूर्वदेखि नै उनी जंगल र समुदायका विषयमा आधारित रहेर काम गर्थिन् । उनी अहिले स्नातकको अध्ययन गर्दै छन् । उनी बाघ सर्वेक्षण र गैंडा गणनामा पनि खटिएकी थिइन् ।

गत पुस २ गते भरतपुर महानगरपालिका–२८ अन्द्रौलीमा जंगली हात्तीको आक्रमणमा परेर आगो ताप्दै गरेकी ७० वर्षीया एक महिलाको मृत्यु भयो । त्यसपश्चात उक्त गाउँमा सन्त्रास फैलियो । उक्त हात्तीलाई नियन्त्रणमा नलिएसम्म गाउँलेहरु निदाउनै सकेनन् । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाबाट पशु चिकित्सक सहितको रेस्क्यु टिम उक्त क्षेत्रमा खटियो ।

उक्त टिममा गेम स्काउट कौशिला मोक्तान पनि खटिइन् । घटना भएको घरको आसपासबाट हात्ती बस्तीमा प्रवेश गर्न सक्ने ठाउँको अध्ययन गरेर हात्ती नियन्त्रणको लागि ठाउँ–ठाउँमा रातभर बसेको उनले बताइन् । हात्ती नियन्त्रणमा लिन राती करिब ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय सामुदायिक वनमा बसेर उनीहरु मेघौली रेञ्जपोष्टमा फर्कने गर्थे । उनीहरुले पुस ७ गते बिहान करिब ६ बजेतिर गोविन्दे हात्तीलाई डार्ट गरेर जंगलभित्र धपाउन सफल भए । त्यसपछि हात्ती वस्तीतिर आएको छैन ।

उद्धार टिममा खटिएकी एकमात्र महिला गेम स्काउट हुन् मोक्तान । वन्यजन्तुको उद्धार गर्दा उनलाई सन्तुष्टि मिल्छ । ‘वन्यजन्तुको क्षेत्रमा महिला वा पुरुष भन्ने हुँदैन, यहि क्षेत्रमा काम गर्छु भनेर आइसकेपछि काम गर्नै पर्छ । गर्न सकिन्छ पनि,’ उनले भनिन् । जंगलमा जनावरसँग जम्काभेट हुँदा महिला पुरुष सबैलाई गाह्रो हुने उनले बताइन् । जंगली जनावरसँग कसरि बच्ने भन्ने उपाय अपनाउन सके कसैलाई गाह्रो नहुने उनको भनाई छ ।

हात्ती नियन्त्रणमा लिन नपाउँदै फेरि सोही क्षेत्रमा घाइते बाघ फेला परेको नेचर गाईडहरुले उनीहरुलाई बताए । विगत १६ दिनदेखि उनीहरु क्यामेरा ट्यापिङ गर्दै बाघको खोजिमा लागिरहेका छन् । तर, बाघ भने अहिलेसम्म फेला परेको छैन ।

‘हात्ती र बाघले गाउँ त्रसित छ । त्यसैको लागि प्राविधिक टिम तयारी अवस्थामा छौँ । मेघौली रेञ्जपोष्ट मेरो कार्य क्षेत्र नै हो । एनटिएनसिको टेक्निसियन टिमलाई यस ठाउँको लोकेसन र क्षेत्रको बारेमा गाईड गरिहेकी छु’, मोक्तान् भन्छिन्, ‘अशक्त बाघ छ भन्ने थाहापाएपछि कुन ठाउँमा कसरी क्यामेरा ट्यापिङ गर्दा बाघ क्यामेरामा पर्छ र नियन्त्रणमा लिन सकिन्छ भनेर उपयुक्त ठाउँ देखाइरहेकी छु ।’

२÷३ दिनसम्म पनि क्यामेरा ट्यापिङमा बाघ नपरेपछि क्यामरालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने गरिन्छ । बाघको पहिचान गरी नियन्त्रणमा लिन स्थानीय चार वटा सामुदायिक वनको ८ ठाउँमा क्यामेरा राखिएको छ । तीन वटा क्यामेरामा सिमपनि राखिएको छ । सेन्सरबाट चल्ने उक्त क्यामेराले लाईभ फोटो मोबाइलमा नै पठाउँछ । सिम नराखेका बाँकी क्यामेरा भने दिनहुँ जंगल गएर फोटो जाँच गर्नुपर्ने हुन्छ ।

दिनहुँ जंगल जाने, क्यामेरा चेक गर्ने, बाघको फोटो छ वा छैन पत्ता लगाउने, बाघको पाइला खोज्ने, बाघ हिँड्ने ठाउँ भेटिए सोही क्षेत्रमा क्यामेरा राख्ने काम टेक्निसियन टिमको भईरहेको छ ।

क्यामेरा चेक गर्ने क्रममा गत पुस १३ गते बुधबार मोक्तान लगायत अन्य ३ जना क्यामेराको लोकेसन परिवर्तन गर्न जंगल हिँड्दै गए । क्यामेराको नजिकै गएर क्यामेरा निकाल्दै गर्दा एनटिएनसीको टिम र सुतेर भर्खर आँखा उघारेको गैँडाको आँखा जुध्यो । गैँडा र उक्त टिम दुवैलाई आफ्नो ज्यानको माया लाग्यो । गैंडा देखेर भाग्दा एक जनाको चप्पल जंगलमै छुट्यो । त्यो चप्पल भोलिपल्ट मात्र ल्याएको मोक्तानले बताइन् ।

१० वर्षको यात्रामा उनी र वन्यजन्तुबीच कैयौँ पटक जम्काभेट भएको छ । माडीको बनकट्टा पोष्टबाट भरतपुरतर्फ आउँदै गर्दाको अविष्मरणीय क्षण सम्झँदै उनी भन्छिन्, ‘म स्कुटरमा आइरहेकी थिएँ । घना जंगलको बीचमा आइपुग्दा ३ वटा भालुसँग जम्का भेट भयो । फोटो खिच्न थालौँ भने फेरि स्कुटर स्टार्ट नहोला भनेर भागेँ ।’

त्यो भन्दापनि डरलाग्दो घटना त उनले २०७२ साल वैशाख १२ गतेको भुकम्प जानेबेलामा भोग्नु परेको थियो । २०१५ को गैँडा गणनाको सुरुकै दिन गणनाको क्रममा आइल्याण्ड जंगल नजिक पुगेको बेलाको तितो सम्झना उनको मनमा ताजा नै छ ।

उनले भनिन्, ‘भुकम्प गएको जनावरलाई छिटो थाहा हुने रहेछ । सबैको हात्ती कन्ट्रोल भयोे तर मेरो भएन । हात्ती आत्तिएर झाडीमा जाँदा झुण्डिएका लहराले मेरो घाँटी बेर्न थाल्यो । सचेत भएर टाउको निकाल्दै हात्तीमाथी राखिएको गद्धामा सुतेपछि मन ढुक्क भयो । आत्तिएको भए त सिद्धिने रैछ नि ।’

शरिरले साथ दिँदासम्म वन्यजन्तुको उद्धार र संरक्षणमा काम गर्ने उनको अठोट छ । यो आफ्नो कर्तव्य पनि भएकाले पछि हट्न नसक्ने उनको भनाई छ । उनको परिवारलाई जंगली जनावरले दुख दिने क्रम आजपनि उस्तै छ । यसमा मानिसको पनि गल्ति भएको उनी महसुस गर्छिन् । वन्यजन्तुलाई जंगलमा प्रर्याप्त ठाउँ नपुग्दा, मानिसले जंगल ओगट्दै जाँदा मानव वन्यजन्तु द्धन्द्ध दिनहुँ बढ्दै गइरहेको उनी बताउँछिन् । Source: nepalprofile.com

Advertisment