हिमालका पशुमा लम्पी स्किन

जोमसोम ।
देशका ७७ जिल्लामध्ये २ साता अघिसम्म हिमाली जिल्ला मुस्ताङ र मनाङमा पशुचौपायालाई लाग्ने ‘लम्पी स्किन’ संक्रमण पुगेको थिएन । गत हप्ता यहाँ गरिएको पशुचौपायाको स्वास्थ्य परीक्षणबाट मुस्ताङ पनि यो रोग पुष्टि भएको छ ।

घरपझोङ र थासाङ गाउँपालिकाका पशुपालकको ८ गोठमा गरिएको परीक्षणबाट १५ पशुचौपायामा यो संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । अस्पतालका कार्यालय प्रमुख दण्डपाणि शर्माका अनुसार लम्की स्किन संक्रमित १५ वटा पशुचौपाया मध्ये २ वटा मरिसकेका छन् ।

साताअघि मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसा र थासाङ ५ को टिटीमा गरिएको पशुचौपायाको परीक्षणबाट १० पशुचौपायामा लम्की स्किन संक्रमण देखिएको हो । घाँसा गाउँमा स्थानीय अनुपप्रसाद छन्त्यालको गोठमा ४ वटा लोकल गाई, उदय नेपालीको गोठमा २ लोकल गाई, प्रेमलाल विकको गोठको १ गोरु, लाटा श्रेष्ठका २ गोरु र टिटी गाउँमा एक जनाको गोठबाट १ गोरुमा लम्की स्किन संक्रमण पुष्टि भएको भेटिरीनरी तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक ऋषिराम पोखरेलले जानकारी दिए ।

थासाङ स्थित घाँसामा गरिएको चौपाया परीक्षणमा स्थानीय अनुपप्रसाद छन्त्याल र उदय नेपालीका २ गाई यो रोगको संक्रमणबाट मरेको यकिन भएको छ । घरपझोङ ३ स्याङ गाउँमा आईतबार गरिएको पशु परीक्षणमा भवबहादुर थकालीका उन्नत जर्सी गाई २, विनोद थकालीका उन्नत जर्सी गाई २ र लक्ष्मण थकालीका १ जर्सी गाई ५ वटा उन्नत जर्सी गाईमा लम्की स्कीन रोग संक्रमण फेला परेको छ ।

घरपझोङ गाउँपालिकामा १० दिनअघि यो संक्रमणको डिजिट रोग भ्याक्सिन लगाइएको भए पनि पशुचौपायामा संक्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उल्लेख गरेको छ । चौपायामा लगाइएको भ्याक्सिनले काम गर्न ३ साता लाग्छ । सो समयअघि नै संक्रमण देखिएको हो ।

थासाङ र घरपझोङका पशुपालकले पशुचौपाया अस्वस्थ भएपछि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहको पशु शाखालाई खबर गरेका थिए । सूचनापछि सम्बन्धित तहका पशु शाखाका प्राविधिकले पशु परीक्षण गरेका थिए ।

पशु प्राविधिकहरुले घरपझोङ ३ स्याङमा १ सय २५ वटा पशुचौपायालाई डिजिट भ्याक्सिन लगाएका छन् भने थासाङ गाउँपालिकाका ५ वटै वडाका ११ सय पशुचौपायालाई पनि यो भ्याक्सिन लगाइएको छ ।

मुस्ताङको अन्य स्थान र पालिकामा भने संक्रमण देखिएको समस्याको सूचना प्राप्त नभएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । लम्की स्कीन संक्रमण रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, छालामा फोका उठ्ने, ¥याल र सिँगान काँड्ने, गर्भिणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने पर्छन् । संक्रमण बढेपछि पशुचौपाया मर्ने जोखिम पनि हुन्छ ।

मुस्ताङ पनि रोग देखा परिसकेकाले प्राथमिक उपचार र भ्याक्सिन लगाउने अभियान सुरु गरिएको छ । ‘यो रोग निको पार्ने कुनै इन्जेक्सन छैन । रोगबाट ग्रसित पशुका लागि ठोस उपचार पनि छैन,’ विज्ञ केन्द्रका प्राविधिक पोखरेलले भने, ‘सामान्य एन्टिबायोटिक र भ्याक्सिन दिने काम सुरु गरेका छौं । बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौं ।’ लम्पी स्किन भएपछि चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने उनको भनाइ छ ।

Advertisment