रुपन्देहीको सिमरहवामा स्थापना गरिएको देशको पहिलो तरल अक्सिजन प्लान्टको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको सिमरहवामा स्थापना गरिएको देशको पहिलो तरल अक्सिजन प्लान्टको आज प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ ।

करिब १ अर्ब रुपैयाँको लागतमा आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुन लागेको प्लान्टबाट ६० टन लिक्विड अक्सिजन र एक टन नाईट्रोजन ग्यास प्रति दिन उत्पादन गर्न सकिने शंकर अक्सिजन ग्यास प्रालिका प्रवन्ध निर्देशक शंकर अग्रवालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । साथै त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

शंकर ग्यास प्रालिले २०५६ सालमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १०० क्युबिक मिटर प्रतिघण्टाको उत्पादन क्षमताको अक्सिजन ग्यास प्लान्ट जडान गरि उत्पादन थालेको थियो । २०६० सालमा काठमाण्डौंको बालाजु औद्योगिक क्षेत्रमा १०० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरेकोमा त्यसले अपुग भए पछि पुनः सोही स्थानमा २५० क्युबिक मिटर प्रतिघण्टा र ८० क्युबिक मिटर प्रतिघण्टा समेत गरी जम्मा ४३० क्युविक मिटर क्षमताको प्लान्ट जडान गरेको थियो । साथै २०७१ सालमा रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि २५० क्युबिक मिटर प्रतिघण्टा क्षमताको प्लान्ट जडान गरी सेवा प्रदान गर्दै आएको प्रवन्ध निर्देशक शंकर अग्रवालले जानकारी दिनुभयो ।

“ कोभिड–१९ को दोश्रो लहरको कारण मुलुकभर अक्सिजनको अभाव हुदा हामीले पूर्ण क्षमतामा सञ्चालन गरेर आपूर्ति गरे पनि त्यसले पर्याप्त भएन र अक्सिजनको हाहाकार भएकोले नेपालमै पहिलो पटक लिक्विड अक्सिजन प्लान्टको सुरुवात गर्न लागेका छौं”, प्रवन्ध निर्देशक अग्रवालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । यसले देशमा अक्सिजनको अभाव धेरै हद सम्म कम गर्ने अपेक्षा राखिएको छ । लागत, ढुवानी लगायतको खर्चमा कमी हुने भएकोले सामान्य अक्सिजन ग्यास भन्दा यसको मूल्य कम पर्ने कारणले एउटै मूल्यमा देशभर अक्सिजन उपलब्ध गराउने र अक्सिजनकै अभावमा मानवीय क्षतिमा कमी आउने कम्पनीले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अक्सिजनमा आत्मनिर्भरता कायम गर्ने प्रयास सह्रानीय भएको बताउनुभएको छ । ‘महामारीको दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अक्सिजनमा आत्मनिर्भरता बढाउन अक्सिजन प्लान्ट स्थापना गर्न आयात गर्नुपर्ने उपकरणमा कर, भन्सार छुट तथा सहुलियत कर्जाको प्रबन्ध सरकारले कार्यान्वयनमा ल्याएको छ ।’ उहाँले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योग सञ्चालनले जनतालाई मात्र नभई उद्योगीलाई पनि अवसर प्रदान गरेको बताउनुहुँदै लिक्विड अक्सिजन प्लान्ट स्थापनामा सरकारले यसअघि घोषणा गरेको सहुलियत प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महामारीका समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताउनुभयो ।

उहाँले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारीे दिनुभयो । “महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हँुदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ”, उहाँले भन्नुभयो । आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने भन्दै उहाँले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताउनुभयो । अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उहाँको भनाइ थियो ।

यस्तै कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले संकटको समयमा अक्सिजनको बिषयमा सरकार, सरकारी निकाय र समाजका सबै अङ्गहरूको सामूहिक प्रयासले नै यसलाई समाधान गरिएको उल्लेख गर्नुभएको छ । अक्सिजन प्लान्ट स्थापनाको लागी उद्योगका सञ्चालकले सरकारलाई गरेको आग्रह मानेर नै प्रधानमन्त्रीले पनि उद्योग स्थापनाको लागी सहज बनाउन पहल गर्नुभएको पूर्व स्वाथ्यमन्त्री त्रिपाठीले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय भोज प्रसाद श्रेष्ठले उद्योगलाई प्रदेश सरकारले पनि दिन सक्ने सहुलियत प्रदान गर्ने उल्लेख गर्नुभएको छ । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्योगको अवलोकन गर्नु भएको थियो । कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव, रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

Advertisment