चितवन / नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे २०२६ सालमा पढ्नका लागि धादिङ्गबाट भण्डारा चितवन आउँदै थिए । तीन दिन लगाएर विकट डाँडा हिडेर आउँदा त्यहाँका चेपाङ्गहरुको दुर्दशा देखे, उनले । चुनियाधारामा भन्ने ठाउँमा आइपुग्दा एक जनाको खान नपाएर मरेको खबर पनि थाहा पाए । मानिसहरु निकै कष्टकर जीवन विताइरहेका थिए ।
यो देखेका पाण्डेको मनमा एउटा संकल्प आयो, म कुनै दिन राजनीतिको उपल्लो तहमा पुगे भने यो ठाँउमा सडक बनाउँछु । पाण्डे २०६६ जेठमा अर्थमन्त्री बने । बजेट प्रस्तुत गर्ने मौका पाएका पाण्डेले, आफूले ४० बर्ष अगाडि देखेको सपनालाई विपनामा बदल्ने अवसरका रुपमा चेपाङ्ग मार्गको अवधारण ल्याए । सोही अनुसारको ट्याक खोल्न बजेटको समेत व्यवस्था पनि गरे ।
पाण्डेलाई थाहा छ, यो सडक बन्दा पूर्वी चितवनका जनताको जीवनमा ठूलो वदलाव आउनेछ । यो सडकले विकट भेगका चेपाङ्गहरुहरूको जीवनस्तर मात्रै माथि उठाएको छैन, नारायणगढ मुग्लिन, धादिङ्गखण्डको पृथ्वी राजमार्गको समेत विकल्प दिएको छ ।
भण्डाराबाट मलेखु झण्डै १ घण्टामा पुग्न सक्ने योजनासहित पूर्व अर्थमन्त्री पाण्डेले यो योजना अगाडि ल्याएका थिए । उनको सपना साकार हुने क्रममा पुगेको छ । अहिले मलेखु र भण्डारातिरबाट सडक पिच हुने काम जारी छ । विभिन्न ठाउँमा पुलहरुसमेत बनिरहेका छन् । अब पुलहरु बनिसके पछि यो सडकमा १२ महिना नै गाडीहरु गुड्छन् ।
एमाले उम्मेदवार पाण्डे भन्छन् म जीवनमा निकै खुसी हुन्छु यो सडकले, मलाई नदेखेका नभेटका मान्छेहरुले पनि यो सडक सुरेन्द्रको योजना हो, सपना हो भन्छन्, मलाई निकै खुसी लाग्छ, केही गर्न सके जस्तो लाग्छ । दुब्लिङ्ग र हात्तिसुडे भन्ने ठाँउमा छोटाछोटा सुरूङ्ग बनाउन ठेक्का खुलेका छन् । स्थानीय वासी बुद्धिबहादुर तामाङ्गले एउटा नेताले देखेको सपना साकार हुने अवस्था आएको भन्दै चेपाङ्ग मार्गको अवधारणा ल्याउने सुरेन्द्र पाण्डेलाई धन्यवाद दिए । चेपाङ्ग मार्ग चितवन खण्डमा ३९ किमी र धादिङ खण्डमा २३ किमी पर्दछ ।
एमाले उम्मेदवार सुरेन्द्रको अर्को पनि सपना छ, यो सडकलाई ठोरीसम्म जोड्ने । ठोरीसम्म जोड्दा १३२ किलोमिटर यो सडक लामो हुनेछ ।
चेपाङ मार्ग अन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाँप र वडा नं. १२ ढिटार जोडने लोथर खोलामा ९० मिटरको पुल निर्माण काम सकिएको छ ।
चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।
अझै केही ठाँउहरुमा सडक सुधार गरेर, सुरुङ्गहरु बनाएर सडकलाई छोटो पार्ने प्रयास पनि भैरहेका छन् । ६२ किलोमिटरलाई ५० किलोमिटरमा झार्ने गरी काम भैरहेको एमाले नेता सुरेन्द्र पाण्डे बताउँछन् ।
चेपाङ मार्गका तीन फाइदा
भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाईदा देखिएको छ । पहिलो नारायणगढ काडमाडौं सडक खण्डमा सवारी साधनको चाप घटने छ भने सडक कै कारणले पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवन स्तर माथि उठेको छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाएका छन् ।
सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौ जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर मुग्निल हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दुरी छ । भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलामिटर मात्र रहेकाले ४४ किलोमिटर दुरी कम हुन्छ । त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । साथै यो सडक नारायणगढ मुग्लिन सडकखण्डको विकल्पका रुपमा समेत प्रयोग सकिने सजिलो सडकखण्ड मध्येको एक बन्ने छ । १०५ किलोमिटर दूरीको राजमार्ग ४४ किमी छोटो भएसगै यसले समय र इन्धनको बचत गर्छ ।
चेपाङहरू बसमा सरर…..
सो सडकको ट्याक खोलेपछि भण्डारा र मलेखुबाट सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफुले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं.१३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिडेर भण्डारमा जानु पथ्यो अहिले चाँडै पुगिन्छ ।’ उनले आफुले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको खुसी हुँदै सुनाए । सडकको सहज पहँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामाग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अबस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा लिने गरेका थिए ।
चेपाङले उत्पादन गरेका खसी बोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा विक्री गर्दै आएका थिए ।
तर, अहिले भाउ समेत पाउन थालेका छन् । उनीहरुको मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मुल्यमा विक्री गर्न थालेको र आर्थिक उर्पाजन हुन थालेको एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले बताए । सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन भएको छ ।