राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं ।
२०६५ सालमा पहिलोपटक राष्ट्रपति निर्वाचन हुँदा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उम्मेदवार बन्न गरेको आग्रह टारेका नेता रामचन्द्र पौडेल तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको निर्वाचनमा ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् । राष्ट्रपतिका अर्का उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार बिहीबार चुनिने नयाँ राष्ट्रपतिलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आगामी सोमबार पद तथा गोपनीयताको शपथ गराउने छन् ।

‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ संविधानको धारा ७१ मा भनिएको छ ।

राष्ट्रपति चुनावमा बिहीबार संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ हजार ५ सय ९१ थियो ।

राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम मतभार ५२ हजार ६ सय २८ हो । राष्ट्रपति चयन प्रक्रियामा नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे ।

प्रदेशसभातर्फ राप्रपाका २८, नेमकिपाका ३ र जसपाका १ जना सांसद राष्ट्रपति निर्वाचनमा अनुपस्थित रहे । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्य छन् । यसमध्ये बिरामीद्वय कांग्रेसका डा. चन्द्र भण्डारी र माओवादीका वर्षमान पुन र मुद्दा विचाराधीन अवस्थामा रहेकाले एमालेका लक्ष्मी महतो कोइरीको अनुपस्थित रहे । सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ ।

राप्रपा १४ जना सांसदहरू राजेन्द्र लिङ्देन, दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशाले राष्ट्रपति निर्वाचनलाई बहिस्कार गरे । उनीहरूले पार्टीको निर्णयअनुसार बहिस्कार गरे ।

पौडेल मुलुकको तेस्रो राष्ट्रपति भएका छन् । यसअघि विद्यादेवी भण्डारी र डा रामवरण यादव राष्ट्रपति भइसकेका छन् । पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापना भएपछि डा. यादव पहिलो राष्ट्रपति निर्वाचित भएका थिए ।

तेस्रो राष्ट्रपति निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पूर्वसभामुख पनि हुन् । २०४८ सालको आमनिर्वाचनदेखि पछिल्लोपटक २०७९ मा उनी गृहजिल्ला तनहुँ १ बाट निर्वाचित भएका थिए । २०७४ सालमा बाहेक पौडेल तनहुँबाट ६ पटक सांसद निर्वाचित भए । राष्ट्रपति बन्न भने प्रतिनिधि सभा सदस्य नभए पनि हुन्छ । बरु राष्ट्रपति निर्वाचित भएपछि यसअघिका सबै पदबाट पौडेल मुक्त हुन्छन् ।

२००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा ऋषिमाया पौडेलका कोखबाट रामचन्द्र जन्मिएका हुन् । उनका बुवा बुवा दुर्गाप्रसाद पौडेल हुन् । तनहुँ व्यास–८ बेलथुम्की तनहुँका पौडेलले संस्कृत साहित्यमा शास्त्री गरेका छन् । नेपाली साहित्यमा उनी स्नातकोत्तर हुन् । पौडेल ०१७ सालपछिका हरेक राजनीतिक संघर्षका साक्षी हुन् ।

विसं २०१६ मा पोखरामा हिमालयन छात्र संघ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भंग गरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । पोखरामा केही वर्ष पढे पनि पौडेलले एसएलसी भने काठमाडौंको नन्दीरात्रि माविबाट गरेका हुन् ।

पौडेल समाजवादी चिन्तक र प्रयोगकर्ता मानिन्छन् । स्वच्छ छवि, सादा जीवनका धनी उनी स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता हुन् । कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनी तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गर्थे । Source: https://www.samadhannews.com/

Advertisment