बाख्राको दुधबाट चिज उत्पादन, बजारको समस्या

स्याङ्जा, असोज ५ गते । सुन्दा अचम्म लाग्न सक्छ, बाख्राको दुधबाट विभिन्न परिकार बनाउन सकिन्छ भन्दा । यहाँको भिरकोट नगरपालिका–८, ओकादीका ४५ वर्षीय दिलबहादुर गुरुङले बाख्राको दुधबाट चिज बनाउँदै आउनुभएको छ ।

भारतमा सात वर्ष विद्युत्को काम गरेका गुरुङले गाउँमा आएर १७ वर्ष विद्युत्को काम गरेसँगै २०६९ सालदेखि बाख्रा पाल्न थाल्नुभएको हो । बाख्रा पाल्न थालेको तीन वर्षपछि गुरुङले २०७२ बाट जुना बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा थाल्नुभएको थियो ।

१० वर्षसम्म मासुका लागि बाख्रा पालेको बताउँदै गुरुङले नगरपालिकाबाट चिजका बारेमा ज्ञान पाएपछि गत चैतबाट उत्पादन थालेको बताउनुभयो । नेपालमै केही गर्नुपर्छ भनेर आत्मनिर्भर बन्नका लागि गुरुङले सानन जातका बाख्रापालन गरी दुध दुहेर चिज बनाउन थाल्नुभएको हो ।

बाख्रापालक कृषक गुरुङले दैनिक १० लिटर दुध उत्पादन गरी चिज बनाउँदै आएको बताउनुभयो । चार महिनासम्म बाख्राको दुध पाठापाठीलाई खुवाउने बताउँदै गुरुङले पाठापाठीले कुँडो र घाँस खान थालेपछि दुध दुहेर चिज बनाउने बताउनुभयो ।

स्वास्थ्यका दृष्टिकोणले उपयोगी मानिने बाख्राको चिजको सेवनले ग्यास्टिक, दम जस्ता रोगका लागि उपयोगी मानिने भएकाले आफूले बनाउन थालेको बताउनुभयो । २८ वटा माउ र १८ वटा बच्चा गरेर ४६ वटा बाख्रा पालेको बताउँदै गुरुङले बाख्रापालनको थालनी १० वटाबाट गरेको बताउनुभयो ।

दुर्गम ठाउँमा फरक सोचाइका साथ गाउँमै बसेर स्वरोजगार बन्ने चाहनाले आफ्नै लगानीमा व्यवसाय गरेका गुरुङले उत्पादन भएको चिजले बजार नपाएको बताउनुभयो ।

१० लिटर दुधबाट डेढ किलो चिज बन्ने बताउँदै गुरुङले बाख्राको चिजको फाइदाका बारेमा सबैलाई ज्ञान नहुँदा चार महिनासम्म दुध दुहेर नौ सय लिटर दुध खेर फालेको बताउनुभयो । भौगोलिक विकटता र ज्ञानको अभावमा उत्पादन भएको चिजले बजार नपाउँदा गाउँ, छरछिमेक र घरैमा खपत गर्नु परेको छ ।

बाख्राको दुधबाट चिज बनाउने गुरुङ स्याङ्जामा पहिलो, गण्डकीमा तेस्रो र देशमै तेस्रो व्यक्ति रहनुभएको छ । गण्डकीका बन्दीपुर र हेम्जा तथा बागमतीको नुवाकोटमा यसअगाडि बाख्राको दुधबाट चिज बनाइँदै आएको गुरुङले बताउनुभयो ।  Source; gorkhapatraonline.com

Advertisment