‘सरकारले घर बनाइदेओस्, अरू जोहो आफैँ गर्छौं’

रुकुमपश्चिम। जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।

भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले सरकारले घर बनाइदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब घर बनाउन आफूहरूले नसक्ने भएकाले सरकारले घर बनाइदिएको खण्डमा अरू हामी आफैँ गर्न सक्छौँ ।” उहाँले घर बनाउने कि जीवनयापन गर्ने भन्ने समस्या बढेको भन्दै सरकारले घर बनाइदिए आफूहरूको पीडा केही कम हुने उल्लेख गर्नुभयो ।

यस्तै आठबिसकोट नगररपालिका–११, चौरका कोमल खत्रीले पनि घर बनाइदिने काम सरकारले गरिदिनुपर्ने माग गर्नुभयो । उहाँले ऋण काढेर बनाएको घर भूकम्पले भत्काइदिएपछि फेरि बनाउन नसक्ने हुँदा सरकारले नै बनाइदिनुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हाम्रो घर मात्र बनाइदिनु पर्छ, घर बनाएमा हाम्रो मुख्य समस्या टर्छ, अरू जोहो आफैँ गर्छौं ।” भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी २० हजारभन्दा बढी घरमा क्षति पुगेको छ । जाजरकोटमा पूर्ण र आंशिक गरी आठ हजार ३३६ र रुकुमपश्चिममा पूर्ण, आंशिक र सामान्य गरी ११ हजार ७८८ वटा गरी २० हजार १२४ वटा घरमा क्षाति पुगेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश विपत् व्यवस्थापन केन्द्रले सोमबारसम्मको तथ्याङ्कमा जनाएको छ । पूर्ण क्षति भएका घर जाजरकोटमा एक हजार १७० र रुकुमपश्चिममा पाँच हजार २३६ वटा छन् ।

यस्तै आंशिक क्षति भएका घर जाजरकोटमा सात हजार १६६ वटा र रुकुमपश्चिममा एक हजार ७९२ वटा रहेका छन् । सामान्य क्षतितर्फ रुकुमपश्चिममा चार हजार ७६० वटा छन् भने जाजरकोटमा तथ्याङ्क सङ्कलन भएको छैन । रुकुमपश्चिममा बढी घर क्षति हुनेमा सानीभेरी गाउँपालिकामा दुई हजार ९८० वटा घरमा पूर्ण क्षति, आंशिकमा ४९३ वटा र सामान्यमा ५० वटा भएका छन् भने त्यसपछि आठबिसकोट नगरपालिकाकै रहेको छ । जसमा पूर्ण क्षतिमा एक हजार ५० वटा, आंशिक क्षतिमा एक हजार ५१० र सामान्य क्षतिमा एक हजार १७६ वटा रहेका छन् ।

यसै गरी जाजरकोटमा सबैभन्दा बढी घर क्षति हुनेमा पूर्ण क्षतिमा भेरी नगरपालिकामा ३४४, आंशिकमा ७१२ वटा, त्यसपछि जुनीचाँदे गाउँपालिकामा पूर्ण क्षति भएका घर २७० र आंशिक क्षति भएका चार हजार ४५६ तथा नलगाड नगरपालिकामा पूर्ण क्षति भएका दुई सय र आंशिक क्षतिमा छ सय वटा रहेको प्रदेश विपत् व्यवस्थापन केन्द्रले जनाएको छ ।

राहत वितरण धमाधम

यसै गरी जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत रूपमा गरिएको सहयोग आउने क्रम जारी रहेसँगै प्रभावितलाई वितरण पनि धमाधम भइरहेको छ । एकद्वार प्रणालीबाट राहत वितरण भएकाले वास्तविक प्रभावितसम्म पु¥याउने काम धमाधम भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जिल्लामा राहत आउने र सम्बन्धित प्रभावितलाई वितरण गर्ने काम धमाधम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा आएको राहत सम्बन्धित पालिकालाई र पालिकाले सम्बन्धित वडालाई वितरण गरिएको छ । वडाले बस्तीमा वितरण गरेका छन् ।

त्रिपाल पाएपछि टहरा

त्रिपाललगायतका राहत पुगेलगत्तै प्रभावितले खुला ठाउँ, बारीका डिलमा धमाधम अस्थायी टहरा बनाएर बस्ने प्रबन्ध मिलाउन थालेका छन् ।

शुक्रबारको भूकम्पले घर भत्काएको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, रिठागाउँकी जैकुमारी मल्लले मङ्गलबार त्रिपालपाएलगत्तै अस्थायी बसोबासका लागि टहरा बनाउनुभयो । सोही गाउँका नरु चन्दले पनि त्रिपाल पाएपछि तत्काल अस्थायी टहरा बनाएको र रातिको शीतबाट ओत लाग्ने अवस्था भएको बताउनुभयो । सोही वडाका ललित शाहीले पनि आफ्नो बारीमा त्रिपाल टाँगेर अस्थायी बास बनाउँदै बल्ल बासको टुङ्गो लागेको बताउनुभयो ।

जाजरकोटको भेरी नगरपालिका–१, रावगत गाउँका परिमल रावतले त्रिपाल पाएलगत्तै अस्थायी बास बनाएको बताउनुभयो । भूकम्पले भत्किएर घरको नामोनिसान नै नभएको भन्दै उहाँले राहतका रूपमा त्रिपाल, कम्बल, चामल र म्याट  पाएको बताउनुभयो ।  ललित बसेल-https://gorkhapatraonline.com/

Advertisment