जुशी, कानागावा । नेपालमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला जापानको कानागावा, जुशीमा सञ्चालित दुई रेस्टुरेन्टका नेपाली कर्मचारीहरूले राहतका लागि सहयोग गरेका छन्।

Asian Dining Shanti र Indian Restaurant Bollywood मा कार्यरत कर्मचारीहरूले विगत केही महिनादेखि ग्राहकहरूले दिने टिप्स रकम संकलन गर्दै आएका थिए। त्यसरी संकलन भएको रकम करिब ७० हजार रुपैयाँ पुगेपछि नेपालमा परेको विपत्तिका बेला उक्त रकम सहयोग गर्ने विषयमा कर्मचारीहरूबीच छलफल भएको थियो।

दुवै रेस्टुरेन्टका सञ्चालक विष्णु सुवेदीले पनि व्यक्तिगत रूपमा रकम थपेपछि कुल सहयोग रकम १ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पुगेको हो। सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

सुवेदीका अनुसार टिप्सबाट प्राप्त रकम अहिले विपत्ति आएपछि एकैपटक उठाइएको होइन। ग्राहकहरूले विगत केही महिनादेखि खुसी भएर दिएको टिप्स क्रमशः संकलन हुँदै आएको थियो। नेपालमा विपत्ति परेको खबरपछि त्यसलाई राहतका लागि प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।
“हामी सबै स्टाफ बसेर कुरा गर्दा नेपालमा अहिले मानिसहरू दुःखमा छन्, हामीसँग भएको रकम आफ्नो लागि राख्नुभन्दा सहयोग गरौँ भन्ने सबैको एउटै विचार भयो। त्यसमा मैले पनि व्यक्तिगत रूपमा थपेर सहयोग गर्ने निर्णय गरेँ,” सुवेदीले भने।
उनले नेपालमा विपत्ति पर्दा विदेशमा रहेका नेपालीलाई पनि त्यसको पीडा नजिकबाट महसुस हुने बताए। “हामी विदेशमा भए पनि नेपालमा केही भयो भने मन दुख्छ। कसैको घर बगेको, परिवार समस्यामा परेको वा आफन्त गुमाएको खबर सुन्दा त्यसलाई टाढाको घटना भनेर हेर्न सकिँदैन,” उनले भने।
सुवेदीका अनुसार सहयोगका लागि ठूलो रकम नै आवश्यक हुँदैन। आफ्नो क्षमताअनुसार गरिएको सानो सहयोगले पनि संकटको समयमा अर्थ राख्ने उनको भनाइ छ।
“सबैले ठूलो रकम दिनुपर्छ भन्ने होइन। जसले जति सक्छ, त्यति सहयोग गरे पनि त्यसको अर्थ हुन्छ। हामीले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गरेका हौँ,” उनले बताए।
महिनौँदेखि ग्राहकहरूले दिएको सानो–सानो टिप्सलाई कर्मचारीहरूले संकलन गर्दै आएका थिए। नेपालमा विपत्ति परेपछि त्यसलाई राहतका लागि दिने सामूहिक निर्णय र सञ्चालकको थप योगदानसँगै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुगेको हो।
विदेशमा रहेर पनि नेपालमा परेको विपत्तिका बेला आफ्नो ठाउँबाट सहयोग गर्ने जुशीका नेपाली कर्मचारीहरूको यो प्रयासले सानो योगदान पनि सही समयमा ठूलो अर्थ राख्न सक्छ भन्ने सन्देश दिएको छ।




