डन र पारिजात बने च्याम्पियन

भरतपुर — सरस्वती पूजाको अवसरमा भरतपुर–९ शरदपुर, चितवनस्थित डन एकेडेमीको आयोजनामा सञ्चालित “डन एकेडेमी ७–ए–साइड यू–१३ अन्तरविद्यालय फुटबल प्रतियोगिता” को तेस्रो संस्करण माघ ११ गते आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाभरका ३० वटा विद्यालयले सहभागिता जनाएका थिए।

छात्रतर्फको फाइनल खेलमा डन एकेडेमीले नारायणी नमुना माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। निकै प्रतिस्पर्धात्मक खेलमा डनका निरव विकले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो। यस जितसँगै डन एकेडेमी लगातार दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ।

त्यसैगरी, छात्रातर्फ पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा पारिजात बोर्डिङ स्कुलले डन एकेडेमीलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि हात पार्‍यो। खेल अन्तिम क्षणसम्म रोमाञ्चक बनेको थियो। पारिजातकी पूर्णिमा थापाले ह्याट्रिकसहित ३ गोल गरिन् भने डन एकेडेमीकी अस्मी कुमालले २ गोल गर्दै कडा प्रतिस्पर्धा प्रस्तुत गरिन्।

व्यक्तिगत विधातर्फ, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक डन एकेडेमीका सिमोन न्यौपाने घोषित भए भने उत्कृष्ट खेलाडी नारायणी नमुना माविका सिजन बिष्ट चयन भए। त्यस्तै प्रभावशाली खेलाडीको उपाधि डन एकेडेमीका आनन्द विकले प्राप्त गरे।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कण्डेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा डन एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विष्टको सभाध्यक्षता रहेको थियो। साथै वडा सदस्य, टोल सुधार समितिका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले डन एकेडेमीले शिक्षासँगै खेलकुद र संस्कार विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको प्रशंसा गरे। सभाध्यक्ष मनोज विष्टले विद्यार्थीको सर्वाङ्गीण विकास विद्यालयको प्रमुख लक्ष्य रहेको स्पष्ट पारे।

विद्यालयस्तरमा खेलकुदको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान तथा अनुशासन र टिमवर्कको विकासमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ

Advertisment