अमेरिकामा व्यवसाय गर्दै आएका राजन भट्टमार्फत बाढी–पहिरो पीडितका लागि ३,९४१ डलर सहयोग

अमेरिका । नुवाकोट घर भएका तथा लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका राजन भट्टमार्फत नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि ३ हजार ९ सय ४१ अमेरिकी डलर अर्थात् नेपाली करिब ६ लाख रुपैयाँ सहयोग गरिएको छ।

अमेरिकाको West Branch Community बाट प्राप्त उक्त सहयोग रकम नेपालका विपद् प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। West Branch Community, जुन अमेरिकाका ३१औँ राष्ट्रपति Herbert Hoover को जन्मस्थलका रूपमा परिचित छ ।

भट्टका अनुसार आफ्नो जिल्ला नुवाकोटमा समेत बाढीबाट ठूलो क्षति भएको छ। उनको आफ्नै तथा आफन्तको जग्गाजमिनसमेत प्रभावित भएको अवस्थामा उनले आफन्तहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। तर विपत्तिको असर आफन्तसम्म मात्र सीमित नभएकाले अन्य प्रभावित परिवारका लागि पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ।

“आफ्नो जिल्ला नुवाकोटमा मेरो र आफन्तहरूको जग्गाजमिनसमेत बाढीले बगाएको छ। आफन्तहरूलाई पनि आफ्नो तर्फबाट सहयोग गर्दै आएको छु। तर आफन्तलाई मात्र सहयोग गरेर हुँदैन, विपत्तिमा परेका सबै नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हौँ,” भट्टले भने।

अमेरिकामा व्यवसाय गर्दै आएका भट्टले नेपालमा परेको विपत्तिका बेला आफ्नो व्यक्तिगत सम्बन्ध र क्षतिभन्दा माथि उठेर प्रभावित सबैका लागि सहयोग गर्नुपर्ने बताए। उनका अनुसार प्राप्त सहयोगलाई उचित माध्यमबाट नेपालका विपद् प्रभावित नागरिकसम्म पुर्‍याउने उद्देश्यले सरकारी राहत कोषमा जम्मा गरिएको हो।

“विपत्ति धेरै परिवारमाथि परेको छ। आफ्नो ठाउँबाट जति सकिन्छ, त्यति सहयोग गर्नुपर्छ भन्ने हाम्रो सोच हो,” उनले बताए।

नुवाकोटमा आफ्नै परिवार र आफन्तसमेत प्रभावित भएको अवस्थामा पनि अन्य पीडित परिवारलाई सम्झेर सहयोग गर्न पाएकोमा भट्टले सन्तोष व्यक्त गरेका छन्।

आफ्नै  आफन्तसमेत बाढीको चपेटामा परेको अवस्थामा पनि व्यक्तिगत पीडाभन्दा माथि उठेर सबै प्रभावितका लागि सहयोग गर्नुपर्छ भन्ने सन्देशसहित भट्टमार्फत आएको यो सहयोगले विपत्तिको समयमा सामाजिक जिम्मेवारी र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

Advertisment