धुलो, धुँवा र वायु प्रदूषण: वातावरण विनाशका मुख्य कारक

सधैँ झै यस वर्ष पनि विश्वभर ‘विश्व वातावरण दिवस’ मनाइँदैछ । विद्यमान वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वातावरण दिवस’ मनाइन्छ । यो दिवस सन् १९७३ जुन ५ देखि अंग्रेजी पात्रो अनुसार हरेक वर्षको जुन ५ मा मनाइने गरिन्छ । 

यो दिवस वातावरणसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सम्बन्धित विभिन्न विषयलाई बृहत्तर सम्बोधन गरी मानव तथा वातावरणबीचको सन्तुलनलाई कायम गर्न आवश्यक योजना बनाउनुका साथै सोसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दिनको रूपमा लिइन्छ । 

हरेक वर्षको ‘विश्व वातावरण दिवस’ को दिन विश्वभरका विभिन्न राष्ट्र तथा सो क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले योजनाबद्ध विशेष नारा तय गरी सोहीसँग सम्बन्धित चुनौतीहरुको अवगत गराउने, समाधानका उपायहरू कार्यान्वयन गर्न पहल गर्ने तथा सामुदायिकरूपमा जनचेतनामूलक कार्यहरू गर्ने गर्दछन् । त्यसैले, यस दिवसले विश्वमा देखापरेका वातावरण संरक्षणसम्बन्धी चुनौतीबारे जागरुकता प्रदान गर्न, अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा सामुदायिक तहका नीति निर्माण गरी कार्यान्वयन गर्न विशेष भूमिका खेल्दछ ।

प्रकृतिमैत्री जीवनयापन 

नेपालको संविधानले निर्दिष्ट गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारलाई दृष्टिगत गर्दै नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले यस वर्षको ‘विश्व वातावरण दिवस’ लाई भव्य तथा सभ्य बनाउन अनुरोध गर्दै यस वर्षको नारालाई स्थानीयकरण गरी ‘पृथ्वीको संरक्षण ः दीगो प्रकृतिमैत्री जीवनयापन’ तय गरेको छ । 

मानव स्वास्थ्यको रक्षा र वातावरण संरक्षण प्रत्येक राज्यको दायित्वअन्तर्गत पर्दछ । वातावरणले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापसँगको अन्तरसम्बन्धलाई जनाउँछ ।

वायुप्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या मुख्य छन् । यी समस्याको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक छ । नेपाल पनि वातावरण विनाशको बढ्दो दर र त्यसको  व्यवस्थापनको  विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । 

नेपालमा वातावरणीय समस्या न्यूनीकरण गर्नका लागि वातावरणीय मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था छ । जल, वायु, जमिन र ध्वनि प्रदूषणलगायतका जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनको क्षेत्रमा काम गर्न वातावरण विभाग स्थापना गरिएको छ । 

https://gorkhapatraonline.com/

Advertisment