खुट्टा नभएका हरि सगरमाथा यात्रामा

काठमाडौँ। कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुग्नुभएको छ । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुग्नुभएको हो ।

घुडामुनिको खुट्टा नभएका उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसक्नुभएको छ ।

आरोहणका लागि लुक्ला उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उहाँले आरोहणको तयारीअनुसार आफूलाई विभिन्न चरण पार गर्न पाँच वर्ष लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “शारीरिक रूपमा अशक्त भएका व्यक्ति कोहीभन्दा कमजोर हुँदैनन् भन्ने सबैमा आत्मविश्वास जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको हुँ । विभिन्न हिमाल आरोहण गरिसकेकाले उक्त अनुभवलाई सगरमाथा आरोहणमा प्रयोग गरेर आरोहण पूरा गरेरै फर्किन्छु ।”

हिमालयन स्कीमार्फत आरोहण गर्न लाग्नुभएका उहाँको साथमा एक जना आरोहीसहित आठ जना शेर्पा सहयोगीका रूपमा रहने छन् । हिमाली वातावरणमा घुममिल हुन करिब १५ दिन मीरा पिक आरोहणमा खर्चिने बताउँदै उहाँले सगरमाथा आरोहण पूरा गर्न दुई महिना लाग्ने बताउनुभयो ।

रोल्पाको मिरुल गाउँमा जन्मिनुभएका ४४ वर्षीय बुढामगरले गोरखा सैनिकमा कार्यरत हुँदा सन् २०११ मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएको थियो । उहाँले मोरक्कोमा रहेको चार हजार १६७ मिटर अग्लो माउन्ट टुबकल हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँले फ्रान्सको चार हजार ८१० मिटर अग्लो मोन्ट ब्लाङ्क, छ हजार ५९ मिटर अग्लो चुलु सुदूरपूर्व, पाँच हजार ८९५ मिटर अग्लो किलिमन्जारो र छ हजार ४७६ मिटर अग्लो मीरा पिकको आरोहण गरिसकेको बताउनुभयो ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न बुधबारसम्म नेपालसहित २७ देशका ११५ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि ९४ पुरुष र २१ महिलाले आरोहण अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाबाट २९, भारतबाट १६, नेपालबाट १० र क्यानडाबाट आठ जना छन्।

यस सिजनमा आरोहणका लागि हालसम्म खुला गरिएका सगरमाथासहित १५ हिमाल आरोहण गर्न ३०४ जनाले अनुमति पाइसकेका छन्। अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा आरोहण गर्न चाहेका हुन्। आरोहण अनुमति शुल्कबापत सरकारलाई १७ करोड ८१ लाख ७७ हजार ९७६ रुपियाँ राजस्व प्राप्त भएको छ।

यसअघि सन् २०२२ को वसन्त ऋतुमा सबैभन्दा बढी ४५८ जनाले विभिन्न हिमालको आरोहण गरेका थिए। उक्त समयमा नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए। सन् २०२२ मा आरोहणका लागि खुला गरिएका २७ हिमालमध्ये वसन्त ऋतुमा १४ हिमालमा मात्रै सफल आरोहण भएको थियो। ती हिमालमध्ये सबैभन्दा बढी सगरमाथामा २४० जनाले आरोहण गरेका थिए। सरकारले अहिलेसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ।

सरकारले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय अमेरिकी डलर, शरदमा पाँच हजार पाँच सय अमेरिकी डलर र अन्य सिजनमा दुई हजार ७५० अमेरिकी डलर शुल्क लिँदै आएको छ। नेपालीका लागि भने वसन्त ऋतुमा प्रतिव्यक्ति ७५ हजार रुपियाँ, शरदमा ३७ हजार पाँच सय रुपियाँ र अन्य सिजनमा १८ हजार २५० रुपियाँ शुल्क तोकेको छ। Source: https://gorkhapatraonline.com/

Advertisment