जहाँ मलामीमा शङ्ख बजाइँदैन

काभ्रेपलाञ्चोक  । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र  पैसा (टिलो)समेत बाटोमा छरिँदैन ।

स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिनुभयो ।

“जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास नै परम्परा बन्न पुगेको छ,” उहाँले भन्नुभयो ।  एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा अहिले दुई सय घरपरिवार बस्दै आएका छन् । स्थानीय ज्येष्ठ नागरिक लोकनाथ बजगाईंले परापूर्वकालदेखि नै स्थानीयको मृत्युपछि शङ्ख नबजाउने र बजाएमा अनिष्ट हुने विश्वास रहेको बताउनुभयो । सयौँ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा अहिलेसम्म कायम रहेको बताउँदै उहाँले आफ्नो बिर्ता जमिनसम्म शङ्ख बजाए अनिष्ट हुने जनविश्वास रहेको बताउनुभयो ।

स्थानीय बलराम बजगाईंले मानिसको मृत्युपछि एकाघर परिवारले ‘गाह्रो प-यो दाजुभाइ’ भनेर तीन पटक बोलाएपछि दाजुभाइ भेला भएर शवलाई घाटसम्म लिएर जाने र १३ दिनसम्मका सबै कार्यमा सहभागी हुने गरेका छन् । यसरी कसैको मृत्यु भएपछि दाजुभाइ बोलाउने परम्परा नेपालका अरू ठाउँमा विरलै हुने उहाँले बताउनुभयो । सो गाउँबाट दुई किलोमिटर परको घट्टेकुलोमा पुगेपछि बिर्ता सकिन्छ । त्यसपछि एकोहोरो शङ्ख बजाउने, लाजा र टिलो छर्ने गरिन्छ । सो गाउँका मानिसको अयन्त्र कुनै ठाउँमा पुगेर मृत्यु भएमा शव उठाउने समयमै एकोहोरो शङ्ख बजाइन्छ ।

विसं १५८५ मा काशीप्रसाद उपाध्याय बजगाईंले सो स्थान कुश बिर्ताबापत पाउनुभएको थियो । बिर्ता भएको जमिनमा स्थानीय मात्रै हैन बाटो हिँडेका मानिसको मृत्यु भए पनि एक दिनका लागि खेतबारीमा खनजोत रोकिन्छ । सो दिन खेतीपातीको खनजोत गर्न नहुने मान्यता छ । दुर्घटनाजन्य र प्राकृतिक विपत्तिमा परेर कसैको निधन भएमा समेत बिर्ता पाएको क्षेत्रभित्र शङ्ख बजाइँदैन ।  Source: https://gorkhapatraonline.com/

Advertisment