ह्वील चेयरमा बसेर भैँसीको स्याहार गर्दै चुडामणि

नवलपुर । २०४८ सालमा रुखबाट लडेर ढाडको मेरुदण्ड भाँचियो । उपचारका लागि धेरै ठाउँमा भौँतारियो । धेरै रकम खर्च भयो । तर केही सिप नलागेपछि तीन वर्ष बेडमै बित्यो । अहिले पनि दिनहुँ नसाको औषधी खाइराख्नुपर्छ । ह्वील चेयरमा बसेर हिँडनुको विकल्प छैन ।

कावासोती नगरपालिका वडा नम्बर ७ को ऐलानी जग्गमा बसिरहेका ६० वर्षीय चुडामणि बोहरा २६ वर्षदेखि ह्वील चेयरमा हुनुहुन्छ । उहाँले गोठभरी दुहुना भैँसी पाल्नु भएको छ । एउटा पाडीबाट सुरु भएको भैँसी पालन केही वर्षअघिसम्म २२ वटा दुहुना भैँसीसहित पाडापाडी गरेर ३२ वटा पुगेका थिए । भैँसी स्याहार गर्ने सबै जिम्मा चुडामणिकै हो ।  भैँसीहरुलाई घाँस पराल गर्ने, पानी कुँडो दिने, दुहुने, गोबरसोत्तर गर्ने सबै काम चुडामणिको भरमा छ ।

उहाँको ह्वील चेयर घरमा भन्दा गोठमै बढी भेटिन्छ । गोठ, घर, आँगन, भान्सा, ट्वाइलेट सबै ह्वीलचेयर मैत्री छन् । ‘ह्वील चेयर जान्छ भने एउटा सवलङ्ग मान्छेले गर्ने भन्दा कुनै पनि काममा उहाँको कमी छैन, श्रीमानको पिठ्युमा हातले सुम्सुम्याउँदै श्रीमती शोभाले भन्नुभयो, ‘घरमा कोही नहुँदा खाना पकाउने, भाँडा माझ्ने सबै काम गर्नुहुन्छ ।

तर उमेर ढल्किदै गएपछि अहिले भैँसीको संख्या घटाएर १४ वटा मात्र छन् । ‘उमेर ढल्दै गयो, खाने मुख बढ्दै गए, आम्दानी कम हुँदै गयो, सेतै कपाल फुलेका चुडामणिले भन्नुभयो, भैसी पालन बाहेक अरु उपाय पनि छैन । जहिलेसम्म सकिन्छ त्यतिन्जेल गर्ने हो, अहिलेसम्म त समस्या भएको छैन ।’

दैनिक ३४ देखि ४० लिटर सम्म दुध बिक्री हुन्छ । एक सय रुपियाँ लिटरमा दुध लिन डेरीहरु घरमै आईपुग्छन् । धेरै आम्दानी नभए पनि दुई छोराछोरीसहित चार जनाको बोहरा परिवारलाई भैँसी पालनबाट जीवन गुजारा चलाउन कुनै कठिनाई छैन ।

उहाँको परिवारले पहिले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटलमा काम गथ्र्यो । १० वर्षअघि निकुञ्ज भित्रका होटल हटाइएपछि उहाँहरु पनि निकालिनुभयो । बाढीपिडीत भनेर ऐलानी जग्गामा बस्न वडा कार्यालयले अनुमति दियो । वर्षौ बित्यो लालपुर्जाको आशमा ऐलानी जग्गामा बस्न थालेको पनि । तर अहिलेसम्म लालपुर्जा हात लागेको छैन ।

‘चुनाव आउँछ । हरेक चुनावमा नेताहरुले लालपूर्जा दिलाईदिने भनेर भाषण गर्छन्, आश्वासन दिन्छन् । तर अहिलेसम्म बोलेको कुरा पूरा भएको छैन, चुडामणिले भन्नुभयो । चुनावको बेला नेताहरुले गरेको बाचा कुनै दिन त पूरा होला कि भन्दै लालपुर्जाको आशमा बसिरहेको छ बोहरा परिवार ।

कर्मको सम्मान गर्दै उहाँकी श्रीमतीको नामबाट उहाँहरु बसेको ठाउँलाई स्थानीयले ‘शोभा चोक’ नामाकरण गरिदिएका छन् । स्थानीयप्रति खुशी व्यक्त गर्दै शोभा भन्नुहुन्छ, ‘यहाँ ठूलो समाज बनिसकेको छ । हामी जस्तै अरु धेरै अहिले पनि ऐलानी जग्गामा बसिरहेका छौं । लालपूर्जा पाउन सके कम्तिमा हाम्रो पनि जग्गा छ भन्न त पाइन्थ्यो ।’  Source; बोमलाल गिरी https://gorkhapatraonline.com/

Advertisment