‘१५१२ वर्ष पुरानो राजपत्र थानकोटमा’

राजाज्ञा वा सरकारी आदेशको प्रमाण जुन सरकारको आधिकारीक प्रकाशन हो यसलाई राजपत्र भनिन्छ । सनद र हुकुमप्रमाङ्गी पनि भनिन्छ । वि.सं. २००७ साल भन्दा पहिला राजा महाराजाहरुको उर्दी पूर्जी जारी गर्ने एउटा माध्यम थियो राजपत्र । २००७ को आन्दोलन पश्चात वि.सं. २००८ श्रावण २३ गतेबाट नेपाल गजेटको नाममा अनि वि.सं. २०१७ सालको पञ्चायती व्यवस्थाको सुरुवात पश्चात वि.सं. २०२३ माघ १७ गतेबाट नेपाल गजेट संशोधन गरी ‘नेपाल राजपत्र’ भनि सरकारको आधिकारीक प्रशासन थालियो । माथि नै भनियो कि वि.सं. २००७ साल भन्दा पहिला राजा महाराजाहरुको उर्दी पूर्जी गर्ने माध्यम हो राजपत्र भनेर ।

राणाहरुले शाह राजाको राजाज्ञा पत्र नबनाई आधिकारिक कार्य गर्ने थिएनन् । मल्ल अनि लिच्छविकालिन समयमा पनि राजाज्ञा तथा सनदहरु धेरै नै गरिएको पाइन्छ । शिलालेख, ताम्रपत्र, सरकारी पत्रहरुमा उल्लेख भएको पाइन्छ । बसन्तदेव भन्दा अघिका लिच्छवि राजाहरुले पनि विभिन्न शिलालेख राख्न लगाएका छन् तर सनद–शिलापत्र (राजपत्र) यो नै पहिलो हो जुन थानकोट आदिनारायण मन्दिरको प्राङ्गणमा छ । अहिलेसम्म फेला परेको इतिहासको स्रोतहरुको अध्ययन अनुसन्धान गर्दा लिच्छवि राजा बसन्तदेवको थानकोट आदिनारायण मन्दिरको प्राङ्गणमा रहेको शिलालेखलाई नेपालको प्रथम सनद–पत्र (सनद–शिलापत्र) भनि इतिहासकारहरुले भनेका र मानेका छन् । बसन्तदेव भन्दा अघिका लिच्छवि राजाहरुले यसै प्रकृतिका शिलापत्रहरु राखेका छैनन् । भूत, वर्तमान र भविष्यलाई इंकित गर्दै बसन्तदेवले स्थितिबन्देजले युक्त पारी, चाटभट पस्न नपाउने व्यवस्था गरी यो सनद पत्र प्रकाशन गराए ।

आजभोलि नेपाल सरकारको सरोकारवाला मन्त्रालय वा विभागको आधिकारिक प्रमाणिकरण पश्चात राजपत्र प्रकाशन गरिन्छ । ऐन अध्यादेश वा सन्धि भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनका लागि पठाउने प्रचलन छ । त्यस्तै राजा बसन्तदेवले याज्ञिक विरोचन गुप्त नामको दूतक मार्फत यो सनदपत्र प्रकाशन गरेका थिए । आजभन्दा १५१२ वर्ष पहिला शाके संवत ४२८, वि.सं. ५६३ मार्ग शुक्ल प्रतिप्रदाको दिन बहिनी जयसुन्दरीलाई सन्तान–दरसन्तानले भोग गर्न पाउने गरी, कोट्ट (किल्ला) सम्बन्धी स्थितिबन्देजले युक्त पारी, चाटभट (सरकारी कर्मचारी) पस्न नपाउने गरी सनद–शिलापत्र राख्न लगाएका थिए । बसन्तदेवले आफ्नो बहिनीको विवाह जयपल्लिका ग्रामका एक वासिन्दा सित गराइदिएका थिए । विवाहमा जयपल्लिका ग्राम नै दाइजोको रुपमा जयसुन्दरीलाई दिएका थिए । आफ्नी बहिनीको वैवाहिक जीवन पश्चात जयपल्लिका ग्रामको बस्तुस्थितिमा सुधार ल्याउँदै जयसुन्दरीलाई नै हर्ताकर्ता बनाई सरकारी कर्मचारीले दुःख नदिनु, साविक बमोजिम ‘भाग’ कृषिमा लाग्ने, ‘कर’ वाणिज्यमा लाग्ने, ‘भोग’ पाशुपाल्यमा लाग्ने कर यिनीलाई नै बुझाउनु र हेरचाह यिनीबाटै हुनु भनि यो राजपत्र प्रकाशन गरिएको थियो । सो राजपत्रमा निम्न विषयहरु उल्लेख भएको पाइन्छ ।

क) भट्टारक महाराज श्री बसन्तदेवले मानगृह दरबारबाट ‘जयपल्लिका ग्रामममा बसिरहेका र पछि बस्न आउने ब्राम्हणलगायत अठाह्रै जातका गृहस्थी, मुखियाहरुलगायतका जुन दुनियाँ छन् तिनीहरुलाई हाम्रो तर्फबाट जीविका चलाउने (सरकारी कर्मचारी) कसैले पनि अलिकता पनि दुःख नदिनू । जसले यो आज्ञा नटेरेर अन्यथा गर्ला वा गराउला, त्यसलाई हामी बिल्कुल सहनेछैनौं’ भनि सरकारी कर्मचारीलाई राजाज्ञा जारि गरिएको छ ।

ख) ‘यो कुरा थाहा पाई तिमीहरुले विश्वास मानी, निर्धक्क भई, आफ्नो आफ्नो काममा लागी, परस्परमा मिलि, साविकबमोजिम भाग भोग कर पिण्डक यिनीलाई बुझाई, यिनीले लाए अहएको काम गरी, यिनीद्वारा नै हेरचाह गरिएका छँदा सुखसँग बस्नू’ भनि जयपल्लिका ग्रामको अठाह्रै जातका गृहस्थीलाई राजाज्ञा गरिएको छ ।

ग) ‘पछि हुने हाम्रा बंशका राजाहरुले पनि हामीले दिएको यो जग्गा थाम्नुपर्छ । किनभने सगर आदि धेरै राजाहरुले पृथ्वीको पालना गरिसकेका छन् । जसको पालामा जुन भूमि छ ; त्यस बेला त्यसको फल तिनलाई नै हुन्छ । आफूले वा अरुले दिएको जग्गालाई जसले हर्ला, त्यो विष्टाको कीरा भएर नरकमा पर्ला’ भनि पछि हुने राजा र राजखलकलाई यो राजाज्ञा गरिएको छ ।

वि.सं. ५६३ (१५१२ वर्ष पुरानो) सनद–शिलापत्र थेन्चोग्राम छेउको जयपल्लिकाग्राम आदिनारायण मन्दिरको प्राङ्गणमा हुनु गौरबको विषय हो । काठमाडौं जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट (थेन्चोग्राम) मा यो सनद–शिलापत्र जीर्ण अवस्थामा अविरले रंगिएर रहिरहेको छ । यसको माथिल्लो भाग उक्किएर अक्षर मेटिने क्रममा छ भने तल्लो भाग निर्माणको क्रममा पुरिएको छ । बेलैमा विचार पुर्याउन नसकिएमा हाम्रो अमूल्य सम्पत्ति कौडीको मूल्यमा नष्ट हुनसक्छ । सबैमा चेतना भया ।।।

प्रस्तुति : रविन्द्र रिजाल

Advertisment