नेकपा सचिवालय बैठकमा ओलीको जवाफ ः “यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ”

  • यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।
  • कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ ।
  • विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ”।
  • प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई । १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने ।

 

काठमाडौँ, १३ मङ्सिर । नेकपा सचिवालयको आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाउनुभएको आरोपसहितको प्रस्तावको जवाफ दिँदै “तपार्इंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ” भन्नुभएको छ । अध्यक्ष ओलीले प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भन्दै सो प्रस्ताव प्रथम दृष्टिमै खारेजयोग्य भएको बताउनुभएको छ ।


यस अघि कात्तिक २८ गते अर्का अध्यक्ष दाहालले सचिवलाय बैठकमा प्रस्तुत गर्नुभएको १९ बुँदे प्रस्तावको प्रतिउत्तरतमा आफ्नो ३८ पृष्ठ लामो सो जवाफमा अध्यक्ष ओलीले यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्बाहीको भागिदार बन्नु पर्छ भन्नुभएको छ । जवाफी दस्तावेजमा भनिएको छ, “तपार्इँलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।”

अध्यक्ष ओलीले आफ्ना विरुद्ध अर्का अध्यक्ष दाहालले लगाउनु भएका आरोपहरुको खण्डन गरेको, तिनलाई अस्वीकार गरेको भन्दै पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ र पार्टीलाई २०७७ भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काऔँ भन्ने आग्रह गर्नुभएको छ । “म आश्वस्त पार्न चाहन्छु– म विचारमा, सङ्गठनमा, आचरणमा र आदर्शमा कुनै विचलन आउन दिन्नँ । पार्टीका सबै कमरेडहरुलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्न प्रतिवद्ध छु । म सबैको जिम्मा लिन तयार छु । नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामथ्र्य सहितको पार्टी हस्तान्तरण गरेर अवकास लिने मेरो इच्छा छ”, लिखित जवाफमा भनिएको छ । अध्यक्ष ओलीले पार्टीभित्र देखिएको विवादको समाधानको लागि एकता महाधिवेशनको उपाय पनि सुझाउनुभएको छ । “तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित हुन र विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ”, अध्यक्ष ओलीलिे भन्नुभएको छ ।

सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको लिखित जवाफमा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाल प्रति प्रश्न गर्दै भन्नुभएको छ ः “कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इँले रोजेको बाटोवाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता– विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ?”

 

बैठक आज दिउँसो एक बजे पुर्व निर्धारित समय एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको थियो । पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीले यसअघि तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नुभएको बताउनुभयो । प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । उहाँले आजको सचिवालयको बैठकमा बोल्नुहुने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिनुभएको बताउनुभयो । “उहाँहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानुपर्नेमा सोच्नु हुन्न वा सोच्नुपदैन”, उहाँले भन्नुभयो, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्दछ”, भन्नुभयो ।

उहाँले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताउनुभयो । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्न सकिने जानकारी दिनुभयो । अर्का अध्यक्ष दाहालले कात्तिक २८ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोपसहित प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसको जवाफसहित प्रम ओलीले आजको बैठकमा आफ्नो भनाई राख्नुभएको हो । मङ्सिर ३ मा भएको नेकपाको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गर्नुभएअनुसारनै लिखित भनाई राख्न दश दिनको समय तोकेको थियो । उक्त दिनको बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णयसमेत गरेको थियो ।

 प्रधानमन्त्री एवं ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको जवाफको पूर्ण पाठ यसप्रकार छ । 

Advertisment