अलविदा !

धेरै समयदेखि अनौठो बेचैनी बढिरहेको थियो !
हिजो राती देखि मुटु नै साह्रो दुखिरहेको थियो !
लाग्दैथ्यो अब त्यो अन्तिम प्रहर नजिकै आउँदैछ !
जिन्दगीको गगनमा अँध्यारो बादल जो छाउँदैछ !

भन्दाभन्दै आइ त हाल्यो प्रहर यो छोड्दैन अवता !
टारेर नटर्ने लेखनाथ पौड्यालको त्यो काल कविता !
मुटु थिचीकन, जोड-जोडले प्राण अठँयाएकै जस्तो !
के साह्रो-गाह्रो एक मुठी सास उसै महँगो कस्तो !

फन्कियो धर्ती, धमिलो दृष्य, बिचैमा एक्लिएँ म !
निमेष भरमै नफर्किने गरी अतीतमा धकेलिएँ म !
मुटुका टुक्रा स्मृतिमा बाँड्दै यो अन्तिम कहरमा !
बा, आमा र स्वामीलाई देखेँ पारी त्यो क्षितिजमा !

स्मृतिमा ठूल्दाइ र दिदी अनि प्यारा दुई भाइ !
मुटुका पाँच हिरा, हिराका ती सबै टुक्रालाई !
अरू त गुनासो छैन केही भन्न वा गर्नलाई !
छ पिरलो कठै छोरी ढाकाकै सधैँ भरीलाई !

सृष्टिको लीला, सोचेको नमिल्ला सधैँ भरिलाई !
नमार्नु आस, नमान्नु पिर, दुई दिने चोला बरिलई !
विस्मृतिको पुलले तिम्रो र मेरो मन पनि जोडौला !
सञ्जोग जुरेको पल, कल्पनाकै क्षितिजमा फेरी भेटौला !
अव भयो अबेला ! यति भन्दै सधैँलाई भएँ म अलबिदा !

-वेदप्रसाद भण्डारी

(लेखक भण्डारी सुदूदरपश्चिम प्रदेशमा प्रदेश सचिवको भूमिकामा हुनुहुन्छ !)

Advertisment