लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चिता गर्न लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न काँग्रेस वरिष्ठ नेता पौडेलद्धारा आह्वान

काठमाडाँ, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ भन्दै यसका लागि सबै लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना ः सहकार्यका लागि आह्वान शीर्षकमा जारी गर्नुभएको सन्देशमा वरिष्ठ नेता पौडेलले नेपाली नागरिकको अधिकारको रक्षाका लागि वर्तमान सर्वसत्तावादी चरित्र विरुद्ध शान्तिपूर्ण तवरले दृढताका साथ उभिनु र प्रतिगमनको कुनै पनि संभावनालाई निस्तेज पार्ने दोहोरो दायित्व सबै लोकतन्त्र र अधिकारवादीहरुमा आएको उल्लेख गर्नुभएको छ ।

“यो अवस्थामा विगततर्फ फर्कने होइन, नेपाली नागरिकको मानव अधिकार रक्षाका लागि म र मेरो पार्टी नेपाली कांग्रेस हिजो पनि प्रतिवद्ध थियो, आज पनि छ र मेरो सारा उर्जा नागरिकको मानव अधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा सदैव खपत हुने विश्वास पनि दिलाउन चाहान्छु”, सन्देशमा भनिएको छ ।

उहाँले २०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्ने इतिहासको स्मरण गर्दै आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको बताउनुभएको छ । “ एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन् । कुशासन र अव्यवस्थाका कारण एकातिर नागरिकहरुमा आक्रोश बढ्न थालेको देखिन्छ अर्कोतिर इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका छन् जसका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, वरिष्ठ नेता पौडेलद्धारा जारी सन्देशमा भनिएकोछ ।

७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्दै उहाँले सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो भन्दै भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जनाका लागि  प्रतिपादित मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा निहित अधिकारहरुको संरक्षण र प्रवद्र्धन अत्यन्त आवश्यक छ भन्नुभएको छ ।

Advertisment