सहयोग नहुँदा जोखिम वर्गका पीडितले घर बनाउन सकेनन्

तनहुँ, १८ पुस । तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेपनि सहयोगी संस्थाको अभावमा उनीहरुको भूकम्पले भत्काएको घर अझै बन्न सकेको छैन । भुकम्पले घर भत्काएपछि उनीहरुले नयाँ घर बनाउन असमर्थ भएका हुन् । ‘भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि’ अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीमा पर्छन् ।

गोरखा, लमजुङ लगायतका जिल्लामा विभिन्न गैर सरकारी संस्थाको सहयोगमा घर बन्नेगरेको छ । तनहुँमा त्यस्ता संस्था नहुँदा घर बनाउन अप्ठयारो भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का सूचना अधिकारी सुर्यप्रसाद शर्माले बताउनुभयो । सरकारबाट भुकम्पबाट अति प्रभावित जिल्लामा तनहुँ नपरेकोले त्यस्ता लाभग्राहीलाई मद्धत गरिदिने गैरसरकारी संस्था आउन नसकेको शर्माले जानकारी दिनुभयो ।

स्थानीय पालिकासँग समन्वय गरी उनीहरुको घर बनाउने प्रयास भएको सूचना अधिकारी शर्माले बताउनुभयो । पिडितको नामावलीमा आफ्नो नाम समावेश भएपछि लडेको घर बन्ने आशा पालेको शुक्लागण्डकी नगरपालिका–३ बन्केवाका पुड्कबहादुर विकको घर अझै सम्पन्न हुन सकेको छैन । समस्या बारेमा कसैले बुभ्mन नसक्दा घर बन्न नसक्दा टहरामै बस्न बाध्य भएको विक बताउनुहुन्छ ।

इकाईका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि थप ५० हजार रुपियाँ अनुदान दिने व्यवस्था रहेको छ । रकम नपुगेर आवास पुनर्निर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान उपलब्ध हुन्छ ।

Advertisment