तनहुँसुरका ऐतिहासिक गढी अतिक्रमणमा पुरातत्वको वेवास्ता किन ?

रविकुमार श्रेष्ठ (स्थानीयवासी )

चौबीसे राज्य छँदा शक्तिशाली मानिने तनहुँराज्य , तनहुँुसुरका ऐतिहासिक गढी अहिले अतिक्रमणमा परेको छ । जसका कारण गढीको मौलिक महत्व नष्ट हुन पुगेको छ । तनहँुसुरमा सेन वंशी राजाले शासन गरेको वखतका ऐतिहासिक महत्व राख्ने भग्नावशेष दरबारलगायत विभिन्न स्थान र भौतिक वस्तु यद्यपि देख्न सकिन्छ । तर सबैभन्दा महत्वपूर्ण भनेको त्यहाँका गढीहरू नै हुन् ।

तनहुँसुरमा सात वटा गढी छन् । तर झट्ट हेर्दा तीन वटा गढीचाहिँ मुख्य आकर्षण हो । ती तीन गढीमध्ये दुई गढीमाथि अतिक्रमण भएको छ । एउटामा सञ्चारका अग्ला फलामे टावर राख्ने र अर्कोमा सहिदपार्क बनाउने जस्ता अविवेकी काम भएको छ । जसले गर्दा गढीको मौलिक सुन्दरता नष्ट भएको छ भने यसले ऐतिहासिक महत्व पनि गुमेको छ । तनहँुसुरको नामकरण यिनै तीन गढीलाई पुकारिने संस्कृतमा त्रितुङ्ग (तीन डाँडा) हुँदै तनहुँसुर हुन गएको भन्ने प्रचलित मान्यता छ ।

देशमा संघीयता आएपछि स्थानीय तहका ऐतिहासिक महत्व राख्ने स्थानहरूको संरक्षण र सम्बद्र्धृनमा स्थानीय जनता जागरुक र चनाखो भइरहेका छन् । उदाहरणका रुपमा नजिकैको मकवानपुर गढीलाई लिन सकिन्छ । त्यहाँको ऐतिहासिक गढीमा पनि तनहँुसुरको भैmँ टेलीफोनको टावर राख्ने काम भयो । तर पछि स्थानीय जनताको विरोधपश्चात ती त्यहाँबाट हटाए । केही पर राखिएको छ । अझ पनि स्थानीय जनताले त्यहाँ राखिएका दुई वटा टावर गढी क्षेत्रबाट हटाउन पहल गरिरहेका छन् । देशका अन्य गढीको संरक्षणमा स्थानीय जनताले सुरक्षा दिएर अतिक्रमण हुनबाट जोगाएका उदाहरण छन् ।

कसको अनुमतिले ती गढीमा टावर राखियो ? ऐतिहासिक महत्वको क्षेत्र भनेर पुरातत्व विभागले तनहुँसुर सेन वंशी राजाको दरबारको उत्खनन् गरेको छ । र राजाको पधेँरो, मन्दिर,नुहाउने ढुंगा आदिको संरक्षण प्रयास भएको छ । त्यो सकरात्मक पक्ष हो । तर उस्तै महत्वराख्ने यी गढीहरूको संरक्षणमा पुरातत्वले किन चासो देखाएन ? तत्तकालीन अवस्थामा ती गढीको महत्व उपयोगबारे इतिहासविद्हरूबाट अध्ययन अनुसन्धान गरी स्पष्ट बुझिने गरी जानकारीपाटी राख्नसके यो स्थल थप दर्शनीय हुने थियो ।

स्थानीय जनतालाई थाहा नदिइ, उनीहरूलाई ती टावर निर्माणका लागि आवश्यक सामग्री गढीसम्म ल्याउनका लागि भरिया मात्र बनाइयो । भारीबोक्दा प्राप्त ज्यालामा स्थानीय जनता खुशी त भए तर ऐतिहासिक गढी नष्ट पारिएको उनीहरूलाई बोधै भएन । उनीहरूले यो विनासलाई विकासको रुपमा स्वीकारे । टावर राख्नुलाई विरोध होइन तर ठाउँ छनोट उपयुक्त भएन । जुन गढीमा टावर राखिएको छ तनहुँसुरबाट टाढाटाढा अवलोकन गर्ने महत्वपूर्ण स्थान हो । र गढीहरुमध्ये सबैभन्दा अग्लो यो गढीबाट धवलागिरिदेखि गणेश हिमालसम्मको हिमश्रृंखला ऐनामा अनुहार हेरेँ झैं देखिन्छ । त्यसैले जो जसले यहाँ टावर राख्ने काम गरेँ । त्यो अदुरदर्शी र विवेकहिन काम भएको छ । यसलाई अविलम्ब सच्याउनु पर्छ । स्थानीय जनतानै टावर हटाउन अग्रसर हुनुपर्छ । टावर राख्ने ठाउँ स्थानीय जनताको सम्पत्ति हुनेहुँदा टावर राखेबापत कर लिने वा कुनै लाभ स्थानीय जनताले पाउनु पर्छ ।

गढी मासेर सहिदपार्क ? अर्को महत्वपूर्ण विवेकहिन र अदूरदर्शी काम गढी भत्काएर गढीको मौलिक स्वरुप नष्ट गरेर आफूखुशी त्यसलाई आकार दिने र गढीको थाप्लोमै सहिदको मूर्ति राख्ने हदैसम्मको असोभनीय कार्य भएको छ । सहिदको सम्मान हुनुपर्छ । सहिदप्रतिको विरोध होइन तर तिनै सहिदले सराप्ने गरी उनीहरुको मुर्ति गढीको थाप्लोमा राख्नु यथोचित होइन । गढीको वरपर राख्न सकिने अवस्था हुँदाहुँदै थाप्लोमै राख्ने काम किन भयो ? गढीको मौलिक स्वरुप नष्ट गरेर ऐतिहासिकस्थलमाथि ठूलो अपराध गरेको छ । सच्याउनै नसकिने भूल भएको छ । जबकि तनहँुका सहिदहरुको मुर्ति तत्तकालीन गाविस भवन परिसरमा राखिएको पनि छ । अहिले त्यो भवनको सन्दर्भ नभएको अवस्थामा त्यहिँ नै सहिदपार्क बनाउन सकिन्थ्यो । सुनिने तर्क के भने तत्कालीन एमाले सरकारका बेला स्थानीय जनप्रतिनिधिहरुबाट बनाइएको सहिदबाटिका भएन र अर्को पार्टी अर्थात् नेपाली कांग्रेस समर्थकको पहलमा पनि अर्को सहिदपार्क बनाउनु पर्यो त्यसैसन्दर्भमा यो ऐतिहासिक गढी मास्ने गरी नयाँ सहिद पार्कको निर्माण र सहिदको मूर्ति स्थापना गर्ने सोच अगाडि बढेको देखिन्छ । जति ठाउँमा सहिदपार्क बनाए पनि हुन्छ । आपत्ति यतिमात्र हो, गढी मासेर सहिदपार्क किन ? ऐतिहासिक महत्वको गढी संरक्षण गर्ने कि मास्ने ?

देशका सहिदको सही सम्मान हुन नसकेको र सहिद परिवारको हेरचाह नभएको अवस्थामा सहिदलाई सम्झनु मात्र पनि महत्वको कुरा हो । तर तिनै सहिदलाई नै अपाच्य हुने गरी ऐतिहासिक गढी किल्लामा ती सहिदका मूर्ति ठड्याईंदा तिनै सहिदको शीर लाजले भुक्ला भन्नेतर्फ थोरै पनि हेक्का राखिएन ।
प्रजातन्त्र स्थापनाका लागि तनहुँबाट सहिद हुन पुगेका महान आत्माका लागि सदा श्रद्धाले शीर निहुराउनु पर्छ । सहिदलाई सम्झन र सम्मानका लागि अन्य विकल्पहरु पनि छन् । अहिले गाउँ गाउँ बनिरहेका बाटाघाटाको नाम सहिदको नाममा राख्न सकिन्छ । सहिद परिवारका सदस्यलाई आर्थिक रुपमा जोडन सकिन्छ । तर एक गढीमा मूर्ति राखेर गरिने सम्मान शोभनीय देखिदैन । अर्को ठुलो जनगुनासो के भने जुन रुपमा तनहुँसुरको ऐतिहासिक गढीमा सहिदको मूर्ति राख्ने जस्ता कार्य वा अन्य भएका छन् त्यहाँ बसोबास गरिरहेका जननतालाई कुनै पत्तो हुँदैन । र निर्माणसँग जोडिएका समिति उपसमितिमा स्थानीय जनतालाई सहभागिता समेत गरिएको छैन ।
कुनै व्यक्ति वा समूहको लहड र रहरमा ऐेतिहासिक गढी ध्वस्त बनाउने जुन कार्य भयो त्यो सदा निन्दनीय छ । अब त्यसलाई सच्याउने ठाउँ रहेन । गढीलाई बचाउने हो भने पुरातत्व विभाग वा सम्बिन्धित निकायले त्यहाँबाट सहिदका मूर्ति विस्थापन गरी कतै राख्ने व्यवस्था गर्न सक्छ । गढीको सौन्दर्य कायम राख्न ।

तनहुँुुसुरको अर्को मुख्य गढीमा भएको अतिक्रमणलाई भने हटाउन जरुरी छ । त्यसका लागि स्थानीय निकाय वा स्थानीय जनताले त्यसको पहल गरेमा टेलीफोनको त्यो टावरलाई अन्य ठाउँमा विस्थापना गर्न सकिन्छ । त्यो ढिलाइ गर्नुहुन्न ।
जसरी तनहुँसुरको ऐतिहासिक महत्व जोगाउन त्यहाँ उत्खनन् गर्न राजनीतिक दलका नेताहरु सक्रिय भएर लागेका छन् । तिनै नेताहरुको पहल कदम जरुरी छ । दरबारक्षेत्रको कालिका मन्दिर पुनर्निमाण हुन लागेको छ यो धेरै राम्रो पक्ष हो । त्यसैगरी अन्य सम्पदाको संरक्षणमा पनि पहलको अपेक्षा छ । तनहुँसुर भौगोलिक रुपमा पर्यटकीय स्थलको गहना लगाएको पक्कै हो । यहाँबाट देखिने दृश्य मनमोहक छन् । महत्वपूर्ण छन् । तर त्यो सँगसँगै पर्यटकहरुलाई बेच्ने भनेको त्यहाँको इतिहास र समाज हो । त्यो पनि त्यतिकै रोचक छ । तर समाजलाई बेखबर गरेर ऐतिहासिक स्थलमाथि मनलाग्दी गर्न थालिन्छ भने सचेत नागरिकले त्यसलाई सच्याउन पहल गर्नै पर्छ । ऐतिहासिक स्थलमा कुनै पनि भौतिक संरचना निर्माण हुँदा एक पटक सोच्नै पर्छ । त्यहाँका जनताको प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलका नेताहरुले यसबारे चासो राख्नै पर्छ । जनतालाई सचेत गर्नै पर्छ । स्थानीय रुपमा बसोबास गरिरहेका जनतालाई समानका भारी बोकाएर ज्याला दिएर मख्ख पार्ने कामले तनहुँसुरमाथि न्याय गरिएको ठहरिदैन । अझै पनि त्यहाँ धेरै महत्वपूर्ण ठाउँ छन् । अतिक्रमण नहोस् । यसका लागि ऐतिहासिक महत्वबारे जानकार र पुरातत्व विभागले बेलैमा ध्यान दिनु आवश्यक छ ।
लेखक स्वतन्त्र पत्रकार हुन्

Advertisment