धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

गण्डकी, १५ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमुल । प्यागोडा शैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारा लगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । सफा कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलीरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो । मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्व अझै बढ्दै गएको आँबुखैरेनी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष किसन थापाले बताउनुभयो ।
पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणसँगै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आँफूहरू सकृयताका साथ लागेको उहाँले बताउनुभयो । पर्यटककको आकर्षणलाई लक्षित गरी स्थानीय युवाले पनि होटेल व्यवसायमा लगानी बढाउन सुरु गरेका छन् ।
“आँधिमूल’ पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै यसको विकासका लागि कामहरू अघि बढाएका छौं”, वडा अध्यक्ष थापाले भन्नुभयो । पछिल्ला वर्षमा स्थानीय तहका साथै गण्डकी प्रदेशले पनि यसको विकासलाई चासो दिएको छ ।
आँधमिूलमा तनहु, कास्की, गोरखा, लम्जुङ लगायत आसापसका जिल्लाका साथै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिरका पूजारी युवराज मास्के मगरले जानकारी दिनुभयो । यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पनि दर्शनार्थीहरूको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।
मन्दिरको उत्पत्ति सम्बन्धमा विभिन्न रोचक तथ्य रहेको बताउँदै उहाँले एक किंवदन्ती अनुसार परापूर्व कालमा एक जना बज्यै र उहाँकी नातिनी गाई चराउन यस ठाउँमा आएछन् । नातिनीलाई प्यास लागेछ । पानी खोज्दै जाँदा यहाँ छिपछिप पानी भेटिएछ र प्यास मेटिछन् । मगर भाषामा आँ भनेको प्यास अर्थात तिर्खा र डि भनेको पानी भनिने भएको भएकोले तिर्खा मेटाउने पानी रहेको स्थानका कारण यसको नाम आँडिमूल भएको र पछि अपभ्रंस भई आँधिमूल भन्ने गरिएको तर्क छ । यसको वास्तविक पहिचान आँडिमूल भएकोले आगामी दिनमा ठाउँको नाम आँडिमूल नै भन्नुपर्ने स्थानीयवासी बताउँछन् । त्यस्तै अर्को किंवदन्ती अनुसार परापूर्वकालमा मावली भेट्न आउदै गरेकी चेली बीच बाटोमा पर्ने जंगलको बिचमा आईपुग्दा ठूलो आधिबेहरी आएछ । आँधिबाट जोगिन यस स्थानमा रहेको चाँपको रुखको फेदमा रहेको ओडारमा ओत लाग्न पुग्दा त्यहि अलप भइछन् । पछि सपनामा आफन्तलाई रुखको फेदमा आँधिमूल बाराही रहेको र त्यहाँ नित्य नसके पनि पूर्णिमाको दिन धुपदिप गरी पूजा अर्चना गर्नु भन्ने आदेश भएछ । सो स्थानमा उत्खनन गर्दा शिला (बाराही) उत्पन्न भएपछि सोही रुखको फेदबाट निस्किएको पानीको मूललाई पोखरीको रुपमा परिणत गरियो । सोही समयबाट आँधिमूल बाराही र पोखरीमा उत्पन्न भएका माछा (मत्स्य अवतार)लाई यहाँका बासिन्दाले पुज्दै आएको जनविश्वास छ । पोखरी नजीकैको बनलाई संरक्षित बनको रुपमा संरक्षण गर्नुपर्ने, पोखरी रहेको माछालाई हुचिल र सर्पबाट जोगाउनु पर्ने, केटाकेटी र वस्तुभाउबाट जोगाउनु पर्ने, माछालाई चाराको व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने तथा मन्दीर क्षेत्रमा बढ्दै गएको फाहोर मैला उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन् । पछिल्ला दिनमा आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन् । स्थानीय तहका साथै प्रदेशबाट पनि आँधिमूलको प्रवद्र्धन र विकासमा चासो दिएसँगै आगामी दिनमा यहाँको थप विकास हुने आशा जगाएको स्थानीवासीले बताए । नेपाल सरकारले देशभर बाट एक सय वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०÷१० वटा पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटन प्रवद्र्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा बजेट समेत विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल बाराही सहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बुढी देवता मन्दिर र र्मिलुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।
यस क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश एवम् स्थानीय तहको सहकार्यमा १५ लाख रुपैयाँ विनियोजन गरि ताराबार लगायतका काम गरिएको आँबुखैरेनी गाउँपालिकाका उपप्रमुख पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो ।
यस क्षेत्रको संरक्षण र विकासका लागि आँधिमूल युवा क्लबका साथै यहाँको आँधिमूल महिला समूहले पनि उत्तिकै चासो दिएको छ । आँधिमूल महिला समूहले २०५४ सालमा यहाँस्थित पानीको कुण्ड भित्र शिवलिङ्ग स्थापना गरेको समूहकी संस्थापक समेत रहनुभएकी उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्गलाई कालोपत्रे गर्ने तयारीका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरिएको छ ।
जङ्गलको खोँचमा अवस्थित यस तिर्थस्थलमा पर्यटकहरू सवारीसाधनबाट सहजै पुग्न सक्दछन् । हिँड्न रुचि राख्ने पर्यटक आधा घण्टाको पैदलमार्ग हुँदै पुग्न सक्ने स्थानीयवासी गाउँकार्यपालिका सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्ला वर्षमा विशेषतः सार्वजनिक बिदाको दिनमा मानिस यस स्थानमा घुम्न र वनभोजका लागि पर्यटक आउने गरेका छन् । यहाँको मनोरम दृश्यले आन्तरिक एवं बाह्य पर्यटकको मन लोभ्याउने गरेको । प्राचीन कालदेखि नै यहाँस्थित रुखको फेदमा आँधिमुल बाराहीको पूजा गरिदै आइएकोमा २०३५ सालमा स्थानीय पाकुली परियारको विशेष सकृयतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिवोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवम् मन्दिर परिसरमा तोरण टाङ्गने कार्य चलिआएको छ । जल, जंगल, जमिनलाई पूज्दै आएका स्थानीय मगर समूदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
प्राकृतिक एवम् सांस्कृतिक रुपमा आँधिमूल र आसपासको क्षेत्रको महत्व रहेको पर्यटनविद् हरिसिंह गुरुङले बताउनुभयो । “यहाँको प्रकृति र संस्कृतिलाई जोड्दै आँधिमूललाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने धेरै सम्भावना छ”,– उहाँले भन्नुभयो ।
आँबुखैरेनी गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यस क्षेत्रको विकासलाई गाउँपालिकाले महत्व दिएको बताउँदै यसका लागि सबैको साथ र सहयोग अपरिहार्य हुने बताउनुभयो । आँधिमूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न विभिन्न संघ संस्थाले पनि चासो दिदै आएका छन् । यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फेनिज) गण्डकी प्रदेशले हालै आँबुखैरेनी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आँधमिूलमा नै सम्पन्न गरेको फोनिज गण्डकीका अध्यक्ष एमवि आस्थाले बताउनुभयो । “आँधमिूलको पर्यटकीय सम्भावनालाई उजागर गर्न पनि हामीले यसै ठाउँमा अन्तरक्रिया गरेका हौं”, उहाँले भन्नुभयो, “यस्ता पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवद्र्धनमा फोनिजको सधैं साथ र सहयोग रहने छ ।”

Advertisment