नेपाल लगानीका लागि उपयुक्त मुलुक : व्यवसायी

काठमाडाैं । उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताएका छन् । लगानी सम्मेलनको दोश्रो दिन व्यवसायीहरुले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल राजनीतिक संक्रमण पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा जुटेको बताउनुभयो । श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएको उल्लेख गर्दै उहाँले नेपालमा लगानीको उपयुक्त समय भएको बताउनुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको उल्लेख गर्नुभयो । नेपाली जनता र यहाँको सरकारी संयन्त्र सहजरुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने बताउनुभयो ।

एशियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष सिजिन चेनले मध्यमस्तरको आय भएको मुलुकमा रुपान्तरणका लागि नेपालले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने औँल्याउनुभयो ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष रायले नेपालमा लगानी गरेर आफूहरुले उच्च प्रतिफल प्राप्त गरेको अनुभव सुनाउँदै नेपालमा उपलब्ध शिक्षित जनशक्तिलाई प्रयोग गरेर अन्य क्षेत्रमा समेत मुनाफा आर्जन गर्न सकिने बताउनुभयो ।

Advertisment