तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

दमौली, (रासस) ः तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो ।

सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो । “सन् २०२०÷२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ”, बस्नेतले भन्नुभयो ।

विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो । त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र निर्मलका विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बस्नेतले बताउनुभयो । निर्मलले भारतको एक विद्यालयसँग पनि सहकार्य गरेर काम गरेको थियो । त्यहाँको स्थानीय भाषा र दमौलीको स्थानीय दरै भाषाका विषयमा विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको थियो ।

अन्तर्राष्ट्रिय विद्यालय अवार्डले विद्यालयमा अन्तर्राष्ट्रिय आयाम समावेश गर्ने राम्रो अभ्यासलाई मान्यता दिँदै आएको छ । सन् २०१२ यता नेपालका ४९३ विद्यालयले यस अवार्डका लागि भाग लिएकामा १४६ विद्यालयले अवार्ड प्राप्त गरेको काउन्सिलले जनाएको छ ।
–––

Advertisment