महाशिवरात्रिको व्यापक तयारी

काठमाडौँ, फागुन १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।

पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुग्नुभएको थियो । सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उहाँहरूलाई दक्षिणा प्रदान गर्नुभयो ।

राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपति क्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।

महाशिवरात्रि पर्वका दिन मङ्गलबार बिहान ३ः०० बजे नै पशुपतिनाथ मन्दिरको चारै ढोका खुला हुन्छ भने महाशिवरात्रिको चारै प्रहर भक्तजनलाई पङ्क्तिबद्ध भएर पशुपतिनाथको दर्शन व्यवस्था मिलाइएको जानकारी कोषका कोषाध्यक्ष नारायण सुवेदीले दिनुभयो ।

कोरोनाबाट बचाउ गर्न भक्तजन र दर्शनार्थीलाई अनिवार्य मास्क र भौतिक दूरी कायम गर्नुपर्ने गरी अनुगमन व्यवस्था मिलाइएको छ । पशुपतिनाथ दक्षिणढोका, पश्चिम रुद्रगाडेश्वरबाट दर्शनार्थीलाई मन्दिर प्रवेश मिलाइएको छ ।फाल्गुण कृष्ण एकादशीका दिन आइतबार बिहानै नागाबाबा सर्वाङ्ग भएका छन् ।

पञ्चदेवल पश्चिम डिलमा भारत जुना अखडाबाट केही नागिनी पनि आएका छन् । स्थलगत अनुगमनमा खटिनुभएका पशुपति क्षेत्र विकास कोषका कुमार खतिवडाका अनुसार मन्दिर परिसरमा उत्कृष्ट साधुको आगमन भएको छ । केही रमिते साधु पनि आएका छन् ।

पशुपति गुठी गोश्वाराले धुनी जगाउन ३३ हजार किलो दाउरा साधुलाई वितरण गरेको छ । यो दाउरा प्रतिकिलो १३ रुपियाँका दरले नेपाल वन लिमिटेडबाट खरिद गरेको वरिष्ठ लेखा सहायक युवराज रेग्मीले जानकारी दिनुभएको छ । कालमोचनघाटमा पनि यसरी नै दाउरा दिइएको छ । कालमोचनघाटस्थित सन्न्यासी, वैरागी, नाथ र उदासी अखडामा प्रशस्त साधुको आगमन भएको सावित्री माताले जानकारी दिनुभयो ।

गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यका अनुसार कालमोचनमा आएका साधुलाई दिइने सुविधामा कुनै कसर रहने छैन । पशुपति र कालमोचनका साधुको उचित स्वागत र दक्षिणासहित बिदाइ हुन्छ ।
वि.सं. १९०३ को कोतपर्वमा मारिएकाको दाहसंस्कार भएको कालमोचनमा तत्कालीन श्री ३ जङ्गबहादुर राणाले साधुको पाउ परोस् भन्ने मनोकाङ्क्षाका साथ शिवरात्रिका लागि साधु आमन्त्रण गरिएको इतिहास छ ।

जङ्गनन्द प्रकाशेश्वर गुठीबाट राज्यले साधुका लागि स्वागत गर्छ र यहाँ रहँदा बस्दा यी सबै सुविधा प्रदान गर्ने गरेको छ । पूर्वको पशुपतिनाथ भनिने खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, कास्कीको गुप्तेश्वर, महोत्तरीको जलेश्वरलगायतका कहलिएका शिवालयमा पनि महाशिवरात्रि पर्व पञ्चामृत स्नानसहित भगवान् शिवको अर्चनासहित मनाइँदैछ ।

यसैगरी कुम्भेश्वर पाटन, बडामहादेव साँगा, अनन्तलिङ्गेश्वर भक्तपुर, खञ्जनेश्वर अमालकोट, महामृत्युञ्जय महादेव जयवागेश्वरी, पाँचटाउके महादेव र जितजङ्ग प्रकाशेश्वर राजराजेश्वरीलगायतका शिवालयमा भक्तजनको चहलपहल सुरु भएको छ । महाशिवरात्रि पर्व फागुन १७ गते परेको छ । अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार तमासा चटक देखाउनेलाई पनि यो पल्ट पशुपति क्षेत्रमा स्थान दिइएको छ ।

सरोज आचार्य -https://gorkhapatraonline.com/

Advertisment