राजधानीका १० ठाउँमा हैजा संक्रमण

काठमाडौ, १४ असार । उपत्यकामा हैजाका बिरामी थपिने क्रम नरोकिएपछि विज्ञहरुले पानी र खानेकुरामा विशेष सावधानी नअपनाए स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका १० ठाउँमा १२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

दुई साताअघि बागबजारमा डेरा गरी बस्ने दिदीबहिनीमा पहिलो पटक हैजा देखिएको थियो । त्यसयता यसको संक्रमण क्रमश: विस्तार हुने क्रममा छ । डिल्लीबजार, सानेपा, कपन, बालाजु, थानकोट, बल्खु, खसी बजार, नैकाप र कोटेश्वरमा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बिरामीको संख्या वृद्घि हुँदै गएको बताए । उनका अनुसार पाटन अस्पताल र वयोधा अस्पतालमा एकएक जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना हैजाका बिरामी उपचाररत छन् ।

प्रदूषित पानी र स्ट्रिट फुडका कारण हैजा फैलिरहेको आशंका गरिएको छ । ‘राजधानीमा उपयोग हुने जार, धारा, बोरिङ, टयुबेलको पानीमा इ–कोलाइ, कोलिफर्म देखिएको छ,’ डा. दासले भने, ‘पानी शुद्घ नरहेसम्म हैजाको बिस्तार रोक्न सहज हुँदैन ।’ सानेपाबाट संकलित ८ वटा पानीको नमूनामध्ये ५ वटामा इ–कोलाइ जीवाणु पाइएको प्रतिवेदन सोमबार आएको हो । ‘आन्द्रामा पाइने इ–कोलाइले पानी संक्रमित रहनुको अर्थ यसमा दिसा मिसिएको बुझ्नुपर्छ,’ उनले भने । डिल्लीबजारबाट संकलित पानीको नमुनामध्ये २ वटा र बागबजारबाट संकलित नमुनामध्ये ३ वटामा इ–कोलाइ र कोलिफर्म भेटिएको छ । थानकोट र बल्खुको पानीको रिपोर्ट भने आएको छैन ।

टेकु अस्पतालकी निर्देशक डा. मनिषा रावलले मनसुनका कारण पानीको मुहान प्रदूषित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने बताइन् । ‘हामीले समयमै सचेतता अपनाएनौं हैजा विस्फोटक रुपमा फैलने जोखिम छ ।’ बरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र बीसी हैजाको जोखिम कम गर्न स्ट्रिट फुडको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन्  आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ ।

Advertisment