एपेक्स लाइफ स्कुल कपन काठमाडौमा भानुजयन्ती – प्राडा कृष्णहरि बराललाई सम्मान

काठमाडौँ, २३ असार । काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९ औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

एपेक्स स्कुल र भानु प्रतिष्ठानले लामो समयदेखिको सहकार्यमा गर्दै आएको श्रष्टासम्मान कार्यक्रमबाट यसवर्ष वरिष्ठ कवी प्राडा कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताउनुभयो । उहाँले नेपालमा भन्दापनि नेपालबाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गर्नुभयो । सम्मानित व्यक्ति प्राडा बरालले सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको र भाषासाहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको बताउनुभयो । उहाँले विद्यालयलाई थप अगाडि बढ्न सुझाव समेत दिनुभयो ।

विद्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले भानुभक्तको जन्मथलो तनहुँको चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्कुलले सदैव भाषासाहित्यको सेवामा समर्पित रहने र प्रशंसनीय योगदान गर्ने श्रष्टाको सम्मानलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्यले राष्ट्रका योजकहरूमाथि प्रश्न उठिरहेको आजको समयमा भाषाका माध्यमबाट देशको एकीकरण गर्ने भानुभक्तको महत्व अझै चुलिएको बताउनुभयो । उहाँले भानु प्रतिष्ठानले भानुभक्तको जन्मजन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेसमेत बताउनुभयो ।

उक्त विद्यालयले यसअघि भानु जयन्तीको अवसरमा रमेश विकल, पूर्णप्रकाश नेपाल यात्री, वसन्तकुमार सम्मा, डा. तुलसी भट्टराई, महेश पौडेललगायतका अग्रज श्रष्टालाई सम्मान गरिसकेको विद्यालयका प्रधानाध्यापक प्रभात क्षेत्रीले जानकारी दिनुभयो । सोही कार्यक्रममा वरिष्ठ कवीहरु भाग्यशाली अधिकारी, महेश पौडेल, रामबहादुर पहाडी, देवी बराल, शिवराज खनाल, मधुस न्यौपाने, देवु लुँईटेल, प्रभा भट्टराई, मधुसुदन लामिछाने, बलराम दाहाल, ढुण्डीराज पोखरेललगात कविता बाचन गर्नुभएको थियो ।

वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुलकी चापागाईँ प्रथम

एपेक्स लाइफ स्कुलले २०९ औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुल बानेश्वरकी छात्रा शिक्षा चापागाईँ प्रथम हुनुभएको छ ।यस्तै, वतृत्वकला प्रतियोगितामा भ्याली भ्यू स्कुलका छात्र पार्थ पराजुली दोस्रो, पाणिनी स्कुलकी छात्रा सिम्रन प्रसाईँ तेस्रो र काठमाडौँ प्रज्ञान कुञ्ज स्कुलकी छात्रा रियाना वोगटीले सान्तना पुरस्कार हासिँल गर्नुभएको छ । प्रथम, द्धितीय, तृतीय र सान्तना हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । सोही अवसरमा विद्यालयकी शिक्षिका चण्डिका भेटवालको निर्देशनमा पाँच कक्षामुनी अध्ययनरत विद्यार्थीले भानुभक्तको रामायण वाचन गरेका थिए ।

एपेक्स लाइफ स्कुल असल संस्कारमा विश्वास गर्ने सर्वोत्कृष्ट शैक्षिक केन्द्र हो । यसले अत्याधुनिक शैक्षिक दर्शन, पद्धति तथा अभ्यासलाई आत्मसात् गरेको छ । विद्यालयले हरेक विद्यार्थीको अन्तरनिहित प्रतिभा, क्षमता र सीपलाई उनीहरूकै अभ्यास र अनुभवका आधारमा सिक्ने वातावरण बनाएको छ ।
विस २०५० सालमा स्थापना भएको एपेक्स लाइफ स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संस्कारयुक्त शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका निर्देशक विन्दु अधिकारीले जानकारी दिनुभयो । २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । सरस्वतीनगरमा सञ्चालित विद्यालयको प्रमुख उद्देश्य प्रतिस्पर्धात्मक परिवेशमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै परिवर्तित सन्दर्भमा आफ्नो बलियो उपस्थितिलाई अग्रपंक्तिमा उभ्याउन सक्ने गतिशील नागरिक निर्माण गर्नु रहेको छ । विद्यालय आफ्नो शिक्षण सिकाइ क्रियाकलापलार्ई अत्याधुनिक शैक्षिक दर्शन, पद्धति तथा अभ्यासलाई स्विकार्दै अगाडि बढिरहेको छ ।

तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा, सिर्जनात्मक क्रियाकलाप, विभिन्न श्रव्यदृश्य सामग्री एवं परियोजनात्मक क्रियाकलापका अतिरिक्त विभिन्न जातीय, धार्मिक एवं सांस्कृतिक विविधता झल्काउने खालको क्रियाकलापमा बढीभन्दा बढी सहभागी गराई विद्यार्थीकेन्द्रित शिक्षणसिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने विद्यालयको मान्यता छ ।

Advertisment