कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्म ‘स्मार्ट’ बत्तीले झलमल्ल सडक

काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप÷आइल्यान्डमा यस्तो बत्ती जडान गरेको हो ।   

सडकको बीचमा रहेका आइल्यान्डमा राखिएका पोलमा १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरिएको छ । यसले गर्दा कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा यस्ता बत्ती जडान गरिएपछि रातिको समयमा सो सडकखण्ड चित्ताकर्षक बनेको छ । यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न सकिनेछ । घटस्थापनाको दिन पारेर प्राधिकरणले सोमबार रातिदेखि यी बत्ती बाल्न थालेको हो ।

विगतमा सडकबत्तीको बिल नउठ्ने र समयमै ममर्तसम्भार पनि नहुने अवस्था अन्त्य गर्ने गरी काठमाडौँ महानगरपालिका, मध्यपुर थिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडकबत्तीको महसुल तिर्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्य बढाउन स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताउनुभयो । “सडकबत्ती जडान भएपछि पैदल यात्रु र सवारीचालकलाई आनन्ददायी सुरक्षित महसुस गराउनेछ,” उहाँले भन्नुभयो, “उज्यालो भएपछि सहरी सौन्दर्य पनि बढेको छ ।” 

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्ने व्यवस्था प्राधिकरणले गरेको छ । कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ । यी सडकबत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ । 

स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सोही सफ्टवेयरबाटै विद्युत्को महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । 

नेपालमा विद्युत् उत्पादन बढ्दै गएपछि प्राधिकरणले गत वर्षदेखि उज्यालो सहर अभियानको घोषणा गरेको थियो । सो अभियानअन्तर्गत स्थानीय निकायहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने काम गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । 

यो अभियानमा पालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ ।  Source: https://gorkhapatraonline.com/

Advertisment