चुनावी भाषण गरेर होइन, काम गरेर देखाउँछु-कल्पना धमला

कल्पना धमला प्रतिनिधि सभा सदस्यका उम्मेदवार, काठमाडौं– ९ नेकपा (माओवादी केन्द्र) का नेता कल्पना धमला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौं ९ का साझा उम्मेदवार हुनुहुन्छ ।
२०३१ सालमा धादिङको ज्याम्रुङमा जन्मनुभएकी धमलाले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । महिला र विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै १० वर्षे जनयुद्धमा पूर्णकालीन हुनुभएकी धमलाले विभिन्न समयमा पार्टीका महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुभएको छ ।
आफूलाई सशक्त महिला हस्ताक्षर र प्रतिभाशाली महिला नेतृको रुपमा उभ्याउन सफल धमला २०६४ सालको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । २०६८ सालमा छोटो अवधि विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी धमला निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय हुनुहुन्छ ।
महिला मुक्तिको प्रश्न राज्यसत्ताको संरचनासँग जोडिएकाले राज्यसत्ताको आमूल परिवर्तन नगर्दासम्म महिला अधिकार सुनिश्चित गर्न असम्भव हुने उहाँको ठहर छ । राज्यलाई खबरदारी गर्न र महिलाले नयाँ अग्रगामी राज्यसत्ताको संस्थागत गर्नमा विशेष जोड दिनुपर्ने उहाँको भनाई छ ।
नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका पक्षमा काम गर्छु भन्ने धमलासँग गरिएकोे कुराकानीको अंश :

चुनाव प्रचार प्रसार कस्तो हुँदैछ ?
अब निर्वाचनको समय पनि नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । घरदैलो, स–साना सभा, भेटघाट र अन्तरक्रियामा व्यस्त छौं ।
देशको राजनीति दुई भागमा विभक्त छ– अग्रगमन र पश्चगमनको पक्षमा । अहिलेको चुनाव हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाई देशमा अस्थिरता ल्याउने खोज्ने र नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका पक्षमा काम गर्न चाहने बीचको भिडन्त पनि हो । प्रतिगामीहरुले जनतामा छरेको भ्रम चिर्नका लागि पनि हामीले घरदैलो अभियानलाई तीव्र बनाएका हौं ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
मेरो अभियानलाई मान्छेले कसरी बुझ्छन् भन्ने कुरा हो । सकारात्मक बुझ्नेले त्यसरी लिनु हुन्छ र सकारात्मक प्रतिक्रिया नै दिनु हुन्छ । कतिपय प्रतिपक्षहरु छन्, विरोध नै गर्नुपर्छ भन्ने मानसिकता बोकेका पनि हुन्छन् । उनीहरुले त्यही ढंगले बुझ्लान् । त्यही ढंगले प्रतिक्रिया पनि दिइरहेका छन् ।

तपाईका चुनावी एजेण्डाहरु के के छन् ?
अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन मेरा राजनीतिक एजेण्डाहरु हुन् । त्यस्तै संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने मेरो कार्यभार र कर्तव्य पनि हो । म महिला भएको हैसियतले संविधानमा उल्लेखित ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गर्नका लागि पनि अहिले ठूलो संघर्ष गरिरहनु परेको छ । अहिलेको प्रत्यक्ष निर्वाचनमा पनि ९ प्रतिशत मात्रै महिला सहभागिता छ । अब महिला सहभागिता मात्रै होइन, महिलाको प्रतिनिधित्व अर्थपूर्ण हुनु पर्छ, नीति निर्माणमा हुनु पर्छ, नेतृत्व तहमा हुनु पर्छ भन्ने मेरो अर्काे एजेण्डा हुनेछ ।

युवा पुस्ताका लागि कस्ता योजना छन् तपाईंसँग ?
देशको मेरुदण्ड भनेको युवा पुस्ता हुन् । उनीहरुलाई देशमै रोजगारी सिर्जना गर्न सके देशको आर्थिक स्थिति उकासिन्थ्यो । उनीहरुको आवश्यकता र चाहना अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राज्यले नयाँ नीति लिनुपर्छ । उत्पादनको क्षेत्रमा राज्यले ठाउँ, विशेषता र त्यसको पहिचान अनुसार उद्यमीहरुलाई व्यवस्थित गर्नुपर्छ । विशेषतः युवा पुस्तालाई देशको राजनीतिको जिम्मा लिन र देशको विकास, समृद्धिमा लाग्न आग्रह गर्छु ।

तपाईको निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे बताइदिनुस् न ।
काठमाडौं क्षेत्र नं. ९ मा मल्लकालीन सभ्यता सुरु भएको नेपालको पचली भैरव, टेकु घाट जस्ता प्रसिद्ध स्थानहरु पर्दछन् । नेपालको ऐतिहासिक कला साहित्य, संस्कृति भएका थुप्रै मठ मन्दिरहरु छन् । १४० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको धरहरा पनि यही क्षेत्रमा छ । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा–नौबिसे सुरुङमार्ग यही क्षेत्रमा पर्दछ ।
यी ऐतिहासिक, साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्न, नेवार समुदायको बाहुल्य रहेको यस क्षेत्रमा उक्त समुदायको पहिचान कायम हुने गरी ऐतिहासिक साँस्कृतिक सहर बनाउने म सँग केही योजनाहरु छन् । त्यस्तै, स्वास्थ्य क्षेत्रमा ट्रमा सेवासहितको सुविधासम्पन्न अस्पताल, युवाहरुको रोजगारी र उद्यमशीलतासँग जोड्ने लगायतका कामहरु बढाउन केही गर्नुपर्छ भन्ने मैले योजना बनाएको छु ।

यस क्षेत्रमा रहेको वातावरणीय चुनौतीलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
विश्वमा चुनौती बनेको जलवायु परिवर्तनको मुद्धालाई काठमाडौं क्षेत्र नं. ९ मा मैले उठाउने छु । यसको सामना गर्नका निम्ति मेरो क्षेत्रको चन्द्रागिरि र नागार्जुन जंगलको ठूलो भू–भागलाई वातावरणसँग कसरी जोड्ने र मानव हितमा उपभोग गर्ने भन्नेबारे काम गर्नेछु । सो जंगली भूभागहरुमा आधुनिक ढंगका पर्यटकीय स्थलहरु निर्माण गर्ने र त्यहाँ जाने पर्यटकहरुलाई त्यहाँको स्थानीय तामाङ संस्कृति देखाउनका निम्ति ‘होम–स्टे’को रुपमा पनि अगाडि बढाउने छु । यस्ता थुप्रै एजेण्डाहरु मेरो दिमागमा स्केच तयार पारेको छु । हचुवाको भरमा चुनावी भाषणको रुपमा नभई यसलाई मास्टर प्लान बनाएर नै म लागू गर्नेछु । प्राथमिकताका आधारमा एक, दुई र तीन गर्दै म यी सबै कामको सुरुवात गर्ने र यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशीलता, सरसफाई, फोहोर व्यवस्थापनदेखि स्वच्छ वातावरणसम्मको सबै क्षेत्रमा कम्तीमा एउटा–एउटा नमुना काम सुरु गर्ने लक्ष्य छ ।


थप कुरा केही छन् कि ?
राजनीतिलाई पेशा होइन, सेवा हो भनेर पारित गर्नका निम्ति मेरो जीवनकालको ६० वर्षपछि कार्यकारी पोजिसनमा निर्वाचन लड्ने, सांसद हुने, मन्त्री हुने कुरा म गर्ने छैन । यो प्रतिष्पर्धामा पनि म हुने छैन भने प्रतिवद्धता सार्वजनिक गरेको छु । म राजनीतिलाई सेवाको रुपमा चिनाउन चाहन्छु ।


Advertisment