काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी

कठमाडौं, । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।

४६ वर्षीय महामन्त्री थापाले २१ हजार ३०१ मत प्राप्त गर्नु भएको जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिनु भयो ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नु भएको छ ।

डा. भट्टराईले १३ हजार ८५५ मत प्राप्त गर्नुभएको छ । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी हुनुभएको थियो ।

गगनको उदय यात्रा  
नेपाल विद्यार्थी संघको राजनीतिबाट उहाँ नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाली युवा राजनीतिक नेताहरूमा उच्च छवि बनाउन सफलता थापा कांग्रेसका प्रभावशाली युवा नेतामध्ये एक हुनुहुन्छ ।

मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापाका छोरा थापा २०३३ सालमा काठमाडौंमा जन्मनु भएको हो । सिद्धार्थ वनस्थली हाइस्कुलमा अध्ययन गरेका थापाको इच्छा डाक्टर वा इन्जिनियर बन्ने नै थियो । कक्षा ९ मा पढ्दै गर्दा २०४६ सालको जनआन्दोलनमा गगनको सक्रियता बढ्यो ।

त्यसपछि त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहाँ विद्यार्थी सङ्गठनमा लाग्नुभयो । नेविसंघको सदस्य हुनुभयो । २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएपछि विद्यार्थी राजनीतिको नसाले उहाँलाई झन आकर्षित गर्‍यो । त्यसपछि डाक्टर वा इन्जिनियर बन्ने सपना राजनीतितर्फ मोडियो ।

त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै उहाँ सभापति बन्नुभयो । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा थापाको संलग्नता बढ्नु स्वाभाविक नै थियो । नेविसंघको उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो । जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपरेको थियो । त्यसपछि भएका विरोध प्रदर्शनहरूमा थापा पक्राउ पर्ने र छुट्ने क्रम जारी रह्यो ।

वि.सं २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उहाँसहित विद्यार्थी नेता गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लगाइयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ कलमपछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन ।

त्यसपछि सुरु भएको लोकतान्त्रिक आन्दोलनमा थापाको प्रखर वक्तृत्वकलाले युवाहरूलाई तान्न सफलता मिल्यो । नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँदै उहाँ काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा विजयी हुनुभएको हो । स्वास्थ्य मन्त्री भई मुलुकको केन्द्रीय शासन प्रणालीको समेत अनुभव हासिल गर्नुभएको छ ।

Advertisment