गाउँमै गाडी पुगेपछि स्थानीयमा खुसी

गुल्मी । गाउँमै नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीयहरू खुसी भएका छन् । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गको ओख्लेदहबाट नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका हुन् । 

यहाँ विगत डेढ दशक पहिले मोटर बाटो खनिए पनि नियमित सवारी साधन सञ्चालन नहुँदा स्थानीयले धेरै समस्या भोग्नु परेको थियो । यहाँ मोटर बाटो उद्घाटनका समयमा मात्र गाडी आएको थियो । त्यसपछि निजी सवारी साधन मात्र चल्ने गरेको पाइएको थियो । ओख्लेदहका स्थानीयलाई सदरमुकाम तम्घास र छिमेकी जिल्ला अर्घाखाँची जानका लागि सवारी साधन चढ्न झन्डै डेढ घण्टाको पैदल हिँड्नु परेको स्थानीयहरूले बताउनुभयो । 

यहाँबाट हिँडेर बाँझकटेरी र अग्लुङ्गको सिमाना सोइरे आउनु पर्थ्यो । हिँडेर सोइरे आएपछि मात्र सवारी भेटाउने गरेको स्थानीय हुमा चन्दले बताउनुभयो । अब यहाँबाट नियमित सवारी साधन चल्ने भएपछि हाम्रो समस्याको अन्त्य हुने भएको उहाँले बताउनुभयो ।  ओख्लेदहबाटै सिधै सवारी साधन जिप सञ्चालन हुनुभएपछि ओख्लेदहसहित निपाने, घडेरीका स्थानीयलाई सहज हुने बताइएको छ । 

सोमबार छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क देखि गुल्मीको ओख्लेदहसम्म पुगेको देउराली यातायातको जिप तथा जिप चालक ऋषि पाण्डेलाई स्वागत समेत गरिएको छ । यस विषयमा स्थानीयले वडाध्यक्षलाई सवारी साधन सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । सोही अनुसार वडा अध्यक्ष सुशील चन्दसहितका जनप्रतिनिधि लगायतको पहल तथा सक्रियतामा नियमित यातायात सञ्चालन गर्न लागिएको हो ।

Soruce: रमेश विश्वकर्मा https://gorkhapatraonline.com/

Advertisment