मैले हरेक सम्भावनालाई स्वीकार गरेको छु –डा. अधिकारी

डा. भोजराज अधिकारीलाई गत मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि यो मुलुकका बहुसंख्यक जनताले चिनेको हुनुपर्छ । विरामीको उपचारमा तल्लीन डा. भोजराज अकस्मात् चितवन क्षेत्र नम्बर ३ को उम्मेदवारको रूपमा देखिएपछि धेरैको ध्यान उहाँमाथि केन्द्रीत हुन पुग्यो । उहाँले निर्वाचनमा दोश्रो स्थान प्राप्त गर्नुभयो । पटक पटक निर्वाचनमा भाग लिएर हारजीतको अनुभव संगालेका उम्मेदवारसँग उहाँले जसरी टक्कर दिनुभयो त्यसबाट यही कुरा प्रमाणित भएको छ की डा. भोजराज स्वास्थ्यकर्मी मात्रै होइन, आउने दिनमा जनप्रतिनिधिको रूपमा समेत स्थापित हुने क्षमता राख्नुहुन्छ । पाठकवृन्द, डा. भोजराज चुनावपछि के गर्दै र के सोच्दै हुनुहुन्छ– प्रस्तुत छ नारायणी टुडेको प्रश्न र डा. अधिकारीको जवाफः–
१. अकस्मात् राजनीतिमा झुल्किनु भयो, किन होला ?
– संसारमा धेरै घटना परिघटनाहरू अकस्मातै हुन सक्छन् र देखिएका छन् । म यसपटक चितवन जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिष्पर्धा गर्नुलाई पनि धेरैले यही अकस्मात्को रूपमा बुझ्नुभएको छ । मेरो इच्छा र योजना चाहीँ १० बर्षपछि प्रत्यक्ष राजनीतिमा आउने थियो । परिस्थितिले मलाई १० बर्षअघि अगाडि ल्यायो । खासमा मैले मेरो स्वास्थ्यक्षेत्र मात्रै सुधारेर समग्र मुलुक सुध्रिन नसक्ने बुझेपछि मुलुकलाई हरेककोणबाट सक्षम बनाउने प्रयासमा एउटा सिपाहीको रूपमा राजनीतिमा प्रवेश गर्न चाहेकै हुँ । केही समय अघि नै म देखापरेँ । तर विगत २५ बर्षदेखि मेरो राजनीतिक आस्था र आवद्धता भने थियो जो प्रत्यक्ष देखियो ।
२. उपचार गर्ने डाक्टर उपचारमै सिमित भएको भए हुन्थ्यो भन्नेहरूपनि देखिए नि ?
– मैले पटक पटक यो प्रश्नको जवाफ यही दिएको छु की केही हजार, केही लाख जनताको स्वास्थ्य सुधार गरेर मात्रै मुलुक सम्पन्न हुन सक्दैन । आर्थिक, सामाजिक सुधारका कामहरू पनि गर्न जरुरी हुन्छ । त्यस मानेमा मेरो रोजाइ स्वास्थ्यसँगै राजनीति हुन पुगेको हो । राजनीति मार्फतै सबै समस्या हल हुन सक्छ । त्यसैले मैले स्वास्थ्यको गोरेटोबाट राजनीतिको राजमार्गमा प्रवेश गरेको हुँ भनेको हुँ ।
३. अनि तपाईलाई त निकै बलियो उम्मेदवार भनिएको थियो, के कारणले पराजित हुनुभयो नि ?
– मलाई झण्डै २६ हजार जना आदरणीय मतदाताले आÇनो तर्फबाट प्रतिनिधिसभाको सांसद बनाउनुभयो । चुनिएर संसद भवन पुग्न केही मत पुगेन । यो प्राविधिक विषय भयो । हजारौ जनताले मलाई यो तरिकाले स्नेह र विश्वास गर्नु आफैंमा गौरवको विषय हो । जित र हारको विषयमा चाहीँ मेरो भनाइ यत्ति हो –सधैंभरि जित हुँदैनभने हार पनि सधैं हुँदैन । मनमा र मतमा नीति र सिद्धान्त हुने विवेकी जनताबाट मलाई मत प्राप्त भएको हो ।
४. माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अनुरोध गर्ने बित्तिकै फ्याट्टै चुनाव लड्न तयार हुनुमा पनि केही विशेष कारण छ कि ?
– उहाँले मलाई योग्य देख्नुभयो । यही नै मेरो लागि गौरवको विषय हो । राष्ट्रिय राजनीतिको केन्द्रमा रहनुभएको उहाँले सर्वपक्षीय हित हेरेरै त्यो निर्णय गर्नुभएको हुनुपर्छ भन्ने मेरो ठम्याइले मैले निर्वाचनमा उम्मेदवारी दिएको हुँ । समयले त्यो कुरा प्रमाणित पनि ग¥यो ।
५. चितवनमा माओवादीका अरू पनि नेता थिए, तपाइँलाई नै उहाँले छान्नुमा पनि केही कारण त पक्कै होला नि ?
– राजनीति गतिशील हुनुपर्छ । समयको माग पनि बुझ्ने हुनु पर्छ । हो, मलाई थाहा छ पार्टीमा योग्य र सक्षम नेताहरू धेरै हुनुहुन्छ तर कुनै खालको विशेष परिस्थिति उत्पन्न भएको हुनसक्छ जसका कारण उहाँले मलाई उपयुक्त देख्नुभयो र अन्य नेताहरूले पनि मलाई समर्थन गर्नुभयो ।
६. चुनावमा प्रतिष्पर्धा गर्नु र विरामीको उपचार गर्नुको भिन्नता चाहीँ कस्तो रह्यो ?
– विरामीको उपचारमा अनुभव प्राप्त म चुनावी प्रतिष्पर्धामा जाँदा केही नौलो अनुभूति त मलाई अवश्य भयो तर अफ्ठ्यारोभने मैले महशुस गरिन । किनकी हरेक खालको परिस्थितिलाई सहज बनाउने प्रयास गर्नुपर्छ भन्नेकुरा मैले सानैदेखि पढ्दै र सिक्दै आएको हुँ । मैले जति पनि दुनियाँका दार्शनिक र नेताहरूको जीवनी अध्ययन गरेको छु ती सबैमा मैले असहज अबस्थालाई सहज बनाउने प्रयत्न गरेको पाएको छु । विरामीसँग व्यक्ति व्यक्तिको शारिरीक, मानसिक भावनालाई सम्बोधन गरिन्छ तर चुनावमा समाजका सर्वपक्षिय विषयलाई सुन्नुपर्ने, आश्वासन दिनुपर्ने र समाधानको प्रयास गर्नुपर्ने रहेछ ।
७. अब फेरि पनि अर्को निर्वाचन लड्छु भन्ने छ कि पुग्यो रहर ?
– समय र परिस्थितिको निर्देशन के हुन्छ त्यो पालना गर्नुपर्छ भन्ने म ठान्दछु । मैले समयलाई सञ्चालन गर्ने होइन, समयले मलाई सञ्चालन गर्छ । यो नियम दुनियाँका सबै मानवमा लागू हुन्छ । यो शुरुआत हो । जुनसुकै रूपमा भएपनि अघि भने बढाउनु पर्छ ।
८. तपाइँ जस्तो हरेक कोणबाट काबिल व्यक्ति त सांसद भन्दा भरतपुरको मेयरमै उपयुक्त होइन र ?
– मैले हरेक सम्भावनालाई स्विकार गरेको छु । मेरो आवश्यक्ता जहाँ हुन्छ, जुन भूमिकामा मलाई पार्टी र जनताले सुम्पिने अबस्था बन्छ म सोही अनुसार प्रस्तुत हुन तयारी अबस्थामा छु । मेरो धेरै बर्षको भरतपुर र चितवन क्षेत्र नम्बर ३ केन्द्रीत भूगोलमा जुनरूपमा भएपनि जनपक्षीय काम गरिरहन चाहन्छु ।
९. यो देशको खास समस्या चाहीँ के बुझ्नु भो जसका कारण तपाइँ राजनीतिमा छिर्नुभो ?
– अनुशासन र कानुन लत्याउने, अवसर र रोजगारी वितरणमा मनोमानी र भेदभाव भएको अबस्था र आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने पक्ष भन्दा अर्को पक्ष हावी भएको अबस्था यो देशको मूल समस्या हो । अब यी समस्याहरू विस्तारै समाधान हुन्छन् भन्ने मलाई विश्वास छ ।
१०. तपाइँले सम्मान गर्ने पार्टी अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री हुनुहुन्छ, अब उहाँले नगरी नहुने खासखास कामहरू केके हुन् तपाइँको बुझाइमा ?
– शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार र भूमि, पर्यटनलाई उत्पादन र वितरणसँग जोडेर एउटा राष्ट्रको मुख्य पहिचान बनाएर निकास सहितको विकासमा लाग्नुपर्छ । अनुशासन र कानुनको पालना गर्न लगाउनुपर्छ । सक्षमहरूलाई अवसर दिने, रोजगारी सिर्जना गर्न नयाँ योजना ल्याउने काम गर्नुपर्छ । आयातमुखी अर्थतन्त्रले मुलुक अघि बढ्न नसक्ने प्रष्ट भएको अबस्थामा कृषि र उद्योग मार्फत् उत्पादन वृद्धि गर्ने र निर्यातलाई बढावा दिने होभने मुलुकको समृद्धि चाँडै सम्भव छ । Source: narayani2day.com

Advertisment