गुलाफमा पनि विदेशकै भर

काठमाडौँ, माघ २७ गते । प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)का लागि हरेक वर्ष साढे दुई लाखभन्दा बढी गुलाफ फूलको कारोबार हुने गरेको जनाएको छ ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले प्रणय दिवसमा माग हुने रातो गुलाफको मागसँगै आयात पनि बढेको बताउनुभयो । कोरोनाका कारण विस्थापित भएका गुलाफ उत्पादक किसान पुनः सोही खेतीतर्फ नफर्केकाले यस वर्ष रातो गुलाफ उत्पादनमा कमी आएका र आयात वृद्धि गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

फ्यानका अनुसार यो वर्ष दुई लाख ८० हजार गुलाफका ‘स्टिक’ खपत हुने अनुमान गरिएकामा स्वदेशको उत्पादनले लगभग ७ प्रतिशत मात्रै धान्ने देखिएको छ । अघिल्लो वर्ष मागको १० प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धानेको र कोरोनाअघिका वर्षहरूमा नेपालको उत्पादनले २५ प्रतिशत लगभग माग धान्दै आएकामा पछिल्लो पटक उत्पादन क्रमशः घटेको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार गत वर्ष ९० प्रतिशत आयात र १० प्रतिशत स्वदेशी उत्पादन थियो । चिसो र कम खेतीका कारण यस वर्ष उत्पादन थप घटेको छ । आगामी फागुन २ गते परेको प्रणय दिवसका लागि करिब दुई लाख ६० हजार स्टिम गुलाफ आयात हुनेछ भने आन्तरिक आपूर्ति २० हजार स्टिक मात्र रहेको फ्यानले जनाएको छ ।

प्रणय दिवस अवधिभर झन्डै दुई करोड ८० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान छ । गुणस्तरअनुसार गुलाफको फूल उपभोक्ता मूल्य प्रतिस्टिक एक सयदेखि १२० रुपियाँको हाराहारीमा हुने अनुमान गरिएको फ्यानका अध्यक्ष तामाङले जानकारी दिनुभयो । यो वर्ष उत्पादन पहिलेभन्दा घटेपछि आयात परिमाण र मूल्य पनि बढेको फ्यानले जनाएको छ । यो मूल्य विगतको भन्दा बढी हो । गत वर्ष प्रतिस्टिक गुलाफको मूल्य ८० रुपियाँ एक सय रुपियाँ थियो ।

फ्यानका अनुसार पे्रमको प्रतीक मानिने रातो गुलाफको गत वर्ष दुई लाख ५० हजार स्टिक बजार माग रहेको थियो भने यस वर्ष गत वर्षभन्दा थप ५० हजार स्टिक माग हुने प्रक्षेपण गरिएको छ । हरेक वर्ष दुई करोड रुपियाँको गुलाफको आर्थिक कारोबार हुने गरेको छ । प्रेम दिवसको अवधिमा ६० प्रतिशत गुलाफ काठमाडौँ उपत्यका र ४० प्रतिशत बाहिरका मुख्य सहरमा खपत हुने गरेको फ्यानले जनाएको छ ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब रुपियाँको फूलको आर्थिक कारोबार हुने गरेको छ ।

तिहारमा मात्र १५ करोड रुपियाँ बराबरको फूलको कारोबार हुँदै आएको छ । स्टिक गुलाबभन्दा प्लास्टिकका फूल सस्तो पर्ने भएकाले पहिले यसको खपत अनुमान गरेभन्दा कम हुन्थ्यो । गत वर्षदेखि भने सरकारले प्लास्टिकका फूल गुच्छा आयात गर्न रोक लगाएकाले यस पटक स्टिक गुलाफको खपत राम्रो हुने व्यवसायीले बताएका छन् ।

नेपालमा मुख्य गरी असोजदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ । प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रूपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । जसमा रातो गुलाफ १२ प्रजातिको खेती हुने गरेको छ ।

नेपालमा वि.सं. २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । Source https://gorkhapatraonline.com/

Advertisment