मुस्ताङमा हावाबाट निस्कने बिजुली बन्द

जोमसोम ।
मुस्ताङमा रहेको ३ किलोवाट क्षमताको वायु तथा सौर्य उर्जा उपकरण बिग्रिएको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको उद्घाटन गरेका थिए । बुद्ध पावर कम्पनीले १६ महिना लगाएर जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा जडान गरेको हावाबाट बिजुली बाल्ने उपकरण १ वर्षअघि देखि प्रयोगविहीन छ ।

स्पेनिस नागरिक राफेल पिच र एनआरएनका पूर्व सल्लाहकार पुस्पराज तिमिल्सिनाको लगानीमा ०७४ साउन २८ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङमा वायु तथा सौर्य ऊर्जा उपकरणको सफल परीक्षण गरिएको थियो । वायु तथा सौर्य उर्जा उपकरणमा मौसमको जानकारी दिने सिस्टमसमेत जडान गरिएको थियो ।

हावाबाट बिजुली बाल्न आवश्यक सोलार प्यानल र बेट्री ब्याकप राखिएको थियो । दिउँसो घाम लाग्दा सौर्य ऊर्जाको सहायताबाट ब्याट्री चार्ज गर्ने र घाम नलाग्दा र रातको समयमा हावाको सहायताले ब्याट्री चार्ज गर्ने सिस्टम जडान गरिएको थियो । वायु उर्जा संकलन गर्न प्रहरी कार्यालयमा २ टावरसमेत जडान गरिएको थियो ।

तर वायु तथा सौर्य उर्जा जडान गरिएको ४ वर्षपछि उपकरणले काम गर्न छोडेको मुस्ताङका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए । ‘हावाबाट बल्ने बिजुलीले काम गर्न छाड्यो, हामीले यसका प्रतिनिधि पुस्पराज तिमिल्सिना सम्पर्क गरेका थियौं,’ पौडेलले भने, ‘यहाँका प्राविधिकले मर्मत गर्न सक्दैनन् भन्ने कुरा आयो ।’

बुद्ध पावर कम्पनीका प्रबन्ध निर्देशक एवं एनआरएनका पूर्व सल्लाहकार पुष्पराज तिमिल्सिनाले हावाबाट बिजुली बल्ने उपकरण मर्मत गर्न स्पेनीस प्राविधिक नै चाहिने बताए । ‘हामीले मुस्ताङमा हावाबाट बिजुली बाल्ने उपकरण जडान गर्दा सरकारसँग नेपाली प्राविधिकलाई पनि यो काम सिकाऔं भनेका थियौं,’ उनले भने, ‘तर, त्यस बेला सरकारले चासो दिएन, अहिले समस्या आयो ।’

उनले स्पेनिस टोलीलाई खबर गरिसकेको र चाँडै नेपाल आएर मर्मत गर्ने बताए । जिल्ला प्रहरी कार्यालयमा जडान गर्नुअघि २०४४ सालमा पनि हावाबाट बिजुली उत्पादन गर्ने प्रयास गरिएको थियो । तर, पर्याप्त भौगोलिक अध्ययन बिना जडान गरिएको उपकरण १ महिनामै फेल भएको थियो । Source: https://www.samadhannews.com/

Advertisment