पिएनमा स्ववियुको चुनाव रोकियो

पोखरा ।पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी काम, कारवाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि मिति २०७९।१२।०२ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९।१२।०२ गते सम्मको लागि निर्वाचनसम्बन्धी काम, कारवाही अगाडि नबढाउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ,’ आदेशमा भनिएको छ ।

चुनावमा दर्ता भएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी हुन् । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरी ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो ।

परिवर्तनपछि समूहले विरोध जनाउँदै उच्च अदालत पोखरामा रिट दायर गरेको हो । स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि शनिबार कार्यसूची रहेको उम्मेदवारी दर्ता प्रक्रियासमेत सुरु भएन ।

कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु निर्वाचन कार्यालयमा बिहीबार तालाबन्दी गरेका छन् ।

विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबीच सहमति हुन नसक्दा ताला खुलेको छैन । तालाबन्दी गर्ने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तालाबन्दी फिर्ता लिए पनि विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले तालाबन्दी कायमै राखेका छन् ।

विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरकेो छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार बिहान ११ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची थियो । Source: samadhannews

Advertisment