नवनिर्वाचित राष्ट्रपति पौडेल आजै शीतल निवास सर्ने

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । दिउँसो पौडेलको १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । पौडेल त्यसपछि शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर मत ल्याई विजयी भएका थिए । पौडेलले ३३ हजार ८ सय २ मत ल्याउँदा नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि ५ वर्ष हुन्छ भने दुई पटकसम्म मात्रै राष्ट्रपतिको उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।

पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी पछि पौडेल नेपालको तेस्रो राष्ट्रपति हुन् ।

Advertisment