फेवाताल किनारका पुराना डुंगा हटाईंदै

पोखरा ।फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

फेवा डुंगा व्यवसायी संगठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुंगालाई डुंगाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौं, अब समस्या समाधान हुन्छ ।”

उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार अहिले पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०÷१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुंगा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।

उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा संगठनले काम गरेको पनि उनको भनाइ छ ।

स्थानीय डुंगा चालक एवम् संगठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुंगा सञ्चालित छन् ।

आठ घाटबाट सञ्चालित डुंगामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुंगा मन्दिर पुग्ने गर्दछन् ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए । व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताए । उक्त मुख्य स्थानमा सरसफाइका लागि दुईजना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उनको भनाइ छ ।

Advertisment