स्टार्टअप उद्यमबारे जानकारी लिन चासो बढ्दै

काठमाडौँ, चैत २१ गते । स्टार्टअप उद्यम व्यवसाय सञ्चालन गर्ने विषयमा जानकारी लिन उद्योग विभागमा उद्योगी व्यवसायीको चहलपहल बढेको छ । उद्योग विभागले गत बिहीबारदेखि स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सार्वजनिक सूचना गरेपछि चासो लिनेहरूको चहलपहल बढेको हो ।

विभागमा दिनमा एक सयदेखि दुई सय जनासम्म स्टार्टअपका बारे बुझ्न आउने गरेको जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारीले स्टार्टअप नयाँ व्यवसाय भएकाले पनि धेरै नै बुझ्न आउने गरेको बताउनुभयो ।

सोमबारसम्म १० वटा कम्पनीले आवेदन दर्ता भएको विभागले जनाएको छ । स्टार्टअप व्यवसाय गर्न दर्ता भएका फाइबर, मानव संस्थानसँग सम्बन्धित, पर्यटन तथा मदिरा उद्योग, औषधि, खुद्रा व्यवसाय, कम्प्युटर सफ्टवेर, निर्माण सामग्री इन्टरनेरट र विद्युत् खाद्य सामग्रीका उद्योग रहेका छन् । परियोजना प्रस्ताव पेस गर्ने समय २१ दिनको राखिएको छ । परियोजना प्रस्ताव पेसको समय अवधि सकिएपछि एक महिनामा स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन, छनोट र प्रवद्र्धन उद्योग विभागले गर्नेछ । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ का अनुसार स्टार्टअप उद्यम गर्नेले तीन प्रतिशत ब्याजमा बढीमा २५ लाख रुपियाँसम्म कर्जा पाउनेछन् । साझेदारीमा रहेको उद्यमका लागि यस्तो कर्जा सात वर्षसम्मका लागि पाइनेछ ।

के हो स्टार्टअप ?

उद्यमशील समूहले वस्तु, सेवा र प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नवीन अन्वेषण र सिर्जनशील सोचको प्रयोग गरी व्यावसायिक रूपमा सञ्चालन भई स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसायलाई स्टार्टअप उद्यमलाई जनाउँछ ।

स्टार्टअप उद्यमको क्षेत्रमा कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावार), पर्यटन, प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्योग–व्यवसाय गर्नेले स्टार्टअप ऋण पाउने कार्यविधिमा उल्लेख छ । शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण कार्य, अटोमोबाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्य

उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरण उद्यान सञ्चालन गर्ने उद्यमीले पनि ऋण पाउने कार्यविधिमा उल्लेख छ ।

स्टार्टअप उद्यम वा व्यवसाय स्थापना भएको सात वर्ष ननाघेकालाई स्टार्टअप कर्जा दिइने कार्यविधिमा उल्लेख छ ।

यस्तो ऋण पाउन चुक्ता पुँजी ५० लाख रुपियाँभन्दा बढी नभएको, उद्यमको वार्षिक कुल आय ५० लाख रुपियाँभन्दा बढी नभएको, स्थिर पुँजी (घरजग्गाको मूल्यबाहेक) दुई करोड रुपियाँभन्दा बढी नभएको र उद्यममा पूर्णकालीन कामदारको सङ्ख्या दस जनाभन्दा बढी नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । नेपाल राष्ट्र बैङ्कले कार्यविधिबमोजिम कर्जा प्रवाह गर्ने बैङ्क तोक्नेछ ।

उद्यमीलाई दुई किस्तामा कर्जा प्रवाह गर्नुपर्नेछ । पहिलो किस्ताबापत स्वीकृत कर्जा रकमको पचास प्रतिशत रकम प्रवाह गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार बैङ्कले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्ने छ । कर्जा प्रवाह गर्नुअघि बैङ्कले कर्जा प्राप्त गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, कर्जा चुक्ताका लागि सावाँ फिर्ता र ब्याज भुक्तानी अवधि तथा प्रक्रियासमेत उल्लेख गरी सिफारिस गरेको मितिले तीन दिनभित्र सम्झौता गर्नुपर्नेछ ।   Source: https://gorkhapatraonline.com/

Advertisment