उपत्यकाका एक तिहाइ सटर खाली

काठमाडौँ ।  व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् ।

मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।

राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको हो ।

काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय गर्ने, जागिर खानका लागि ७७ वटै जिल्लाका मानिस आउने गर्छन् । कोभिड–१९ को असरसँगै गत वर्ष देखा परेका रुस–युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ । व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा पछिल्लो समय व्यवसायबाट पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छ । उपत्यकामा मात्र महासङ्घमा २५ देखि ३० हजार सङ्ख्यामा व्यवसायी आबद्ध छन् । तिनको व्यापार पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । कतिपय व्यवसायबाट पलायन भएको तथा कतिपय पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

बैङ्कको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा धेरै व्यवसाय बन्द हुन थालेका हुन् । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय चलाउने गरेकामा अहिले नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले आर्थिक सङ्कटका कारण व्यापार व्यवसाय चल्न नसक्दा मुलुकभर ३० देखि ३५ प्रतिशत सटर खाली भएको जानकारी दिनुभयो । घरधनीको भाडा वृद्धि, बैङ्कको चर्काे ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेका उहाँको भनाइ छ । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएको उहाँको भनाइ छ । खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेको उहाँको भनाइ छ ।

चारवटा सटर भएका व्यवसायीले दुईवटा सटरमा व्यवसाय झारेको उहाँको भनाइ छ । सुन, लत्ताकपडा, गाडी, जुत्ताचप्पल, निर्माण सामग्री, हार्डवेयरका सामानको व्यापारमा कारोबार ५० प्रतिशतभन्दा कम भएको व्यवसायीको भनाइ छ । उपभोक्ताको क्रयशक्ति नभएका कारण अत्यावश्यकबाहेक अन्य विलासिताका वस्तुमा खर्च कम गर्ने गरेको न्युरोडका व्यापारी दिनेश गुप्ताको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण साना सुन व्यवसायी छाडेर अन्य व्यवसाय गर्न थालेको बताउनुभयो । सुनको मूल्य वृद्धिसँगै उपभोक्ताको क्रयशक्ति कम हुँदा सुनको कारोबार ५० प्रतिशतले घटेको उहाँको भनाइ छ । हाल दैनिक १० किलो मात्र सुन बिक्री हुने गरेकामा वैशाख महिना लगनको सिजन भएकाले पनि कारोबार बिस्तारै बढ्दै जाने उहाँको भनाइ छ । सुन पसल छोडेर किराना पसलसमेत खोल्नुका साथै कतिपय व्यवसायी अन्य वैकल्पिक व्यवसायतर्फ जान थालेको उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर देखिन थालेका हुन् ।

अहिले हरेक चोक र टोलका घर र सटरमा ‘टुलेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोस्टर भेटिन्छन् । केहीमा भाडा रकमसमेत खुलाइएको हुन्छ । शङ्खमूलका व्यापारी दिनेश अधिकारी घरखर्च चलाउन र छोराछोरी पढाउन जुत्ताचप्पलको व्यापार गर्दै आएकामा पछिल्लो छ महिनादेखि राम्रोसँग नचलेपछि बन्द गर्नुपर्ने भएको बताउनुभयो । गुजाराका लागि ससानो व्यापार गर्नेले पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको उहाँको भनाइ छ ।

बुद्धनगरमा किराना पसल सञ्चालन गर्दै आएकी शारदा श्रेष्ठ दिनप्रतिदिन भाडा शुल्क बढ्दा समस्या भएको बताउनुहुन्छ । विगत १० वर्षदेखि किराना पसल गर्दै आएकी उहाँले मासिक पाँच हजार रुपियाँबाट सुरु गरेको सटर भाडा अहिले बढेर २५ हजार पुगेको बताउनुहुन्छ । उहाँ मात्र नभएर अधिकांश व्यवसायीको व्यापार व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

उद्योग व्यवसाय पूर्ण रूपमा चल्न नसक्नु, रोजगारीका अवसर नहुँदा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।

Source: लक्ष्मी सापकोटा(gorkhapatraonline)

Advertisment