गोरखा ।
गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ संग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले बजेट विनियोजन गरेर संग्रहालय निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । ‘स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा संग्रहालय निर्माण गरिएको हो,’ थापा भन्छन्, ‘उपभोक्ता समितिमार्फत निर्माण गरिएको संग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।’
संग्रहालयमा अल्पसंख्यक चेपाङ जातिको वेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिनेछ। ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ’, वडाध्यक्ष थापाले भने, ‘आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो ।’
गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । संग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको छ । सङ्ग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने वेषभूषा, भाङग्रा, जंगलमा गिठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायतका सबै खालका परम्परागत सामग्री राखिने भएको छ ।
संग्रहालयमा हरेक वर्ष चेपाङ समुदायले वर्षमा एक पटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरी मनाउने तथा समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाइ छ । ‘चेपाङहरूको परम्परागत वेषभूषामा महिलाका लागि गुन्यूचोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हो । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । त्यसको संरक्षण पनि संग्रहालयमार्फत अब हुन्छ’, उनले भने ।
परम्परागत चेपाङ समुदायको गरगहनाका रूपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि विस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा संग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीय जगबहादुर चेपाङले बताए ।