सवारी हुइँक्याउँदै हुनुहुन्छ ? तपाईंभन्दा अघि पुग्ला ‘चिट’

तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि ? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ । ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो पटक स्वचालित क्यामरा जडान गरी तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउने चालकमाथि निगरानी तथा कारवाही सुरु गरेको छ ।

काठमाडौँ र ललितपुरमा पर्ने चक्रपथ तथा कोटेश्वर–सूर्यविनायक सडक खण्डमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र भित्री सहर र गल्लीमा ४० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा मात्र सवारी चलाउन पाउनुपर्ने व्यवस्था गरिएको  छ । यो नियम उल्लङ्घन गरी सवारी हाँक्ने र दुर्घटना हुने क्रम बढेपछि नियन्त्रणका लागि स्वचालित क्यामरा जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ  ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक  राजेन्द्रप्रसाद भट्टले तोकिएभन्दा बढीको गतिमा सवारी हाँक्ने सवारीसाधनलाई निगरानी र कारवाही गर्न कोटेश्वर, थसिखेल र धोबीघाटमा स्वचालित नम्बर प्लेट पहिचान (एएनबिआर) क्यामरा जडान गरिएको जानकारी दिनुभयो । चक्रपथमा बढी सवारीसाधन दुर्घटना हुने स्थानमा जडान गरिएका एएनबिआर क्यामराले दुईतर्फी रूपमा गुड्न सवारीसााधन गति सीमाभन्दा तीव्र गतिमा चलेको पाइए भिडियो खिची कन्ट्रोल रूममा पठाउने काम गर्छ ।

उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) मा रहेको कन्ट्रोल रुमबाट स्वचालित क्यामराले पठाएका भिडियो हेरी चालकलाई कारबाही गर्ने गरी प्रविधिको विकास गरिएको छ । विकसित मुलुकमा दशकौँ पहिलेदेखि प्रयोगमा ल्याइएको यो एएनबिआर क्यामरा स्रोत अभावको कारण देखाउँदै प्रयोगमा आउन सकेको थिएन ।

ट्राफिक प्रहरीले २०७२ सालदेखि ‘लिडार गन’ बाट म्यानुअल रूपमा सवारी साधनको गतिको अनुगमन गर्दै आएका छ । हाल ट्राफिक नियम उल्लङ्घन गर्ने र तीव्र गतिमा सवारी चलाउने काठमाडौँका १० वटा स्थानबाट लिडार गनबाट नै सवारी  नियमन गरिँदै आएको छ ।

स्वचालित नम्बर प्लेट पहिचान (एएनबिआर) गर्ने क्यामरा जडान गरेपछि ट्राफिक प्रहरीलाई लिडार गन तेस्र्याएर बिच बाटोमा उभिनुपर्ने बाध्यता विस्तारै हट्ने अपेक्षा गरिएको छ ।

कार्यालयका एसएसपी भट्टले उपत्यकामा बढी दुर्घटना हुने स्थानमा पहिलो चरणमा स्वचालित क्यामरा जडान गरिएको बताउनुभयो । तीन स्थानमा दुवैतर्फका सवारी नियमन गर्न जडान गरिएका क्यामरा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक स्रोत उपलब्ध गराएपछि जडान गरिएको भट्टले जानकारी दिनुभयो । बग्गीखानाको कन्ट्रोल रूमबाट निगरानी गर्न मिल्ने गरी जडान भएका क्यामराले प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी कुदाउने चालक, सवारी साधन र नम्बर प्लेटको स्वचालित रूपमा फोटो खिची कन्ट्रोल रूममा पठाउने गर्दछ ।

साथै ती क्यामराले कुन सवारी साधन कुन दिशातर्फ कति स्पिडमा गइरहेको छ भन्नेबारे भिडियो खिचेर कन्ट्रोल रूममा पठाउने गर्छ ।

एसएसपी भट्टले तीन स्थानमा हाल परीक्षणका रूपमा उपत्यकाका तीन स्थानमा स्वचालित क्यामरा जडान गरिएको र उपत्यकाका मुख्य नाकामा जडान गर्ने योजना रहेको बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारी हाँकेर नियम उल्लङ्घन गर्ने चालकलाई  कारवाहीसँगै जरिवाना गर्न नागरिक एप, बैङ्किङ प्रणाली, यातायात व्यवस्था विभाग र लाइसेन्स डाटाबेस प्रणालीलाई समेत उक्त स्वचालित क्यामरामा जडान गर्ने तयारी भइरहेको जनाएको छ ।  उहाँले परीक्षणको समयपछि जडान भएका स्वचालित क्यामराले कैद गरेका तस्बिरसहित ट्राफिक नियम उल्लङ्घन गरेका चालकलाई सिधै सन्देश पठाउने गरी प्रविधिको प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।    Source; मित्र भण्डारी Gorkhapatraonline.com

Advertisment