भरतपुर, माघ २७ – डन एकेडेमीले आफ्नो २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह माघ २६ गते शनिबार विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अथिति, विषेश अथिति र अथितिहरुको साथै विद्यार्थी, शिक्षक, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री यमलाल कंडेल रहेका थिए भने विशिष्ट अतिथिहरूमा शिक्षा अधिकृत ऋषिराम शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष नामदेव न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज ओस्ती, र विद्यालय संचालक समितिका अध्यक्ष मनोज बिष्ट सहभागी भएका थिए।
समारोहको मुख्य आकर्षण विद्यार्थीहरूको Maths and Science Exhibition, नृत्य, संगीत, नाटक, र कराते प्रस्तुतिहरू थिए। यी गतिविधिहरूले विद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभालाई उजागर गर्दै कार्यक्रममा उत्साह थपेको थियो।

विद्यालयकी प्रिन्सिपल सङ्गीता ओस्ती बिष्टले समारोहको अवसरमा विद्यालयको प्रगति, उपलब्धि, र भविष्यका योजनाहरूलाई समेट्दै विशेष कार्यपत्र प्रस्तुत गरेकी थिइन्। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरूको व्यक्तिगत विकास, र भौतिक संरचना विस्तारका लागि विद्यालयले अघि सारेका रणनीतिबारे जानकारी दिएकी थिइन्।
समारोहमा जग्गादाता तथा विद्यालय सुधार समितिका अध्यक्ष विशाल रोल, शिक्षक अभिभावक संघका सदस्यहरू, र अन्य अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यालयको प्रगतिको लागि देखाएको रुचि र सहयोगले कार्यक्रममा थप ऊर्जा प्रदान गर्यो।
कार्यक्रमको अवसरमा विद्यालयका १२ वर्षदेखि योगदान पुर्याउँदै आएका उप-प्राचार्य रोहिणी प्रसाद चापागाईंलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा विद्यालय संचालक समितिका अध्यक्ष मनोज बिष्टले सबै अतिथि, अभिभावक, शिक्षक, र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक र भौतिक प्रगतिको महत्त्वमाथि जोड दिए। यस्ता समारोहहरूले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास विद्यालयले लिएको उनको भनाइ थियो ।