चितवन, जेठ ९ – भरतपुर महानगरपालिका–९ स्थित डन एकेडेमीमा आज शुक्रबार सम्पन्न विद्यार्थी नेतृत्त्व निर्वाचन–२०८२ मा प्रतीक देवकोटा स्कुल हेड र सार्थक विक्रम विष्ट स्कुल डेपुटी हेडमा विजयी भएका छन्।

विद्यालयद्वारा आयोजित उक्त निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत २६९ जना विद्यार्थीमध्ये २६३ जनाले मतदान गरेका थिए, जसले ९७.७७ प्रतिशत मतदान दर कायम गरेको छ।
निर्वाचनमा स्कुल हेड पदका लागि ६ र डेपुटी हेड पदका लागि ६ गरी जम्मा १२ उम्मेदवार मैदानमा थिए। फुटबल चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका देवकोटा स्कुल हेडमा विजयी हुँदा, क्रीकेट ब्याट चिह्नबाट चुनाव लडेका विष्ट डेपुटी हेडमा निर्वाचित भएका हुन्।

निर्वाचन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। मतदान अधिकृत प्रकाश ठकुरीले जानकारी गराउँदै यस किसिमको लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूमा केवल जित–हारको अनुभव मात्र नभई प्रयोगात्मक शिक्षातर्फ पनि महत्वपूर्ण योगदान पुर्याउने बताए।
विजयी विद्यार्थीहरूलाई विद्यालयकी प्रधानाध्यापक सङ्गीता ओस्ती विष्टले बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै लोकतान्त्रिक मूल्य र अभ्यासप्रतिको विद्यार्थीहरूको सक्रिय सहभागिता सराहनीय रहेको बताउनुभयो।
उहाँले विद्यालयले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
डन एकेडेमीले प्रत्येक वर्ष यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूलाई नेतृत्व, निर्णय क्षमता र लोकतान्त्रिक अभ्यासमा सक्रिय बनाउने अभ्यास गर्दै आएको छ।