रवीन्द्र अधिकारीसहित सातै जनाको शव त्रिवि शिक्षण अस्पतालमा

 

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।

मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकोप्टरबाट शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शव वाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घटना दुखद भएको भन्दै घटनाका बारेमा अध्ययन गर्दै दुर्घटनाको कारण पता लगाईने बताउनुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमास्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसमको खरावीका कारण दुर्घटना भएको हुन सक्ने बताउनुभयो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Advertisment