मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

 

ताप्लेजुङमा गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा राजकीय सम्मानको साथ अन्त्येष्टि गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त आयोजनामा शुक्रबार पोखरामा मन्त्री अधिकारीको राजकीय सम्मानको साथमा शव यात्रासहित अन्त्येष्टि गरिएको हो । पोखराको रामघाटमा उनको अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराइ, मन्त्री अधिकारीका छोराहरु विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।

पोखरा प्रदर्शनी स्थलमा करिब ४ घण्टासम्म श्रद्धाञ्जलि सभापछि, नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा पुगेर शवयात्रा टुंगिएको थियो । शव यात्रामा राजनीतीक दलका नेता, कार्यकर्ता, आम सर्वसाधारण जनताहरुको उल्लेखनिय रुपमा सहभागीता रहेको थिए ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिएका थिए ।

Advertisment