नेपाली सेनाले मनायो सेना दिवस

 

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभएको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि आरम्भ गर्नुका साथै बढाइँ कवाजले प्रस्तुत गरेको थियो । मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो ।

सैनिक मञ्चमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकोप्टरबाट ब्यानर प्रदर्शन र हेलिकोप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । त्यस्तै उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख लगायतको पनि सो अवसरमा उपस्थिति थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसको रुपमा मनाउँदै आएको छ ।

 

Advertisment