सरकारले विप्लवविरुद्ध कडा कदम चाल्ने

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेत्रविक्रम चन्द विप्लवले संविधानविरोधी र राजनीतिक अस्थिरता निम्त्याउने गतिविधि गरिरहे प्रशासनिक समाधान खोजिने बताएका छन।

अहिले राजनीतिक समाधानको खोजी जारी रहेको र अतिवादी सोचले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहे सरकारले प्रशासनिक समाधान खोज्ने बताएका हुन। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूका प्रश्नको जवाफमा दाहालले यस्तो बताउनु भएको हो । दाहालले प्रशासनिक समाधान भनेको कस्तो हुने भन्ने व्याख्या नगरे पनि सरकारले विप्लव नेतृत्वको नेकपाविरुद्ध सुरक्षा निकाय परिचालन गर्ने संकेत देखिन्छ ।

विप्लव नेतृत्वको पार्टीले केही दिन पहिले मुलुकका विभिन्न स्थलमा बम विस्फोट र आगजनी गरेको थियो। जसमा एकजनाको मृत्युसमेत भएको थियो। उक्त घटनापछि सरकारले विप्लवविरुद्ध कडा कदम चाल्ने भएको हो। यसबीचमा विप्लव नेतृत्वका केही नेता र कार्यकर्तालाई पक्राउ गरिएको छ।

अध्यक्ष दाहालले विप्लवले गरेका गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने र लिइरहेको बताए। सरकारको नेतृत्व गरिरहेको पार्टीको अध्यक्षको नाताले विप्लवको विषयमा गम्भीर छलफल भइरहेको दाहालले बताउनु भयो । सरकार गम्भीर रूपले लागेको छ। मलाई लाग्छ यो नियन्त्रण हुन्छ। राजनीतिक सहमतिमा आउने हदसम्म सहमतिको प्रयास पनि सरकारले नगरेको होइन र भविष्यमा पनि गर्छु, दाहालले भने, देशको संविधान त्यो पनि यत्रो ठूलो संघर्ष र बलिदानबाट बनेको संविधान र त्यसअनुसार बनेको दुई तिहाईको वामपन्थी सरकार भएको बेलामा यसलाई अस्थिर बनाउने कसैले प्रयास गर्छ भने त्यो अतिवाद बाहेक केही हुँदैन। अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपमा सोच्नुपर्छ, सोच्छ र सोचेको छ। यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुवै तरिकाबाट समाधान गरिन्छ ।

Advertisment