हेलिकोप्टर दुर्घटनामा निधन भएका सबै परिवारलाई सहायता गरिने – प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमान्दारिताका साथ लाग्नु भएका मन्त्री अधिकारीसहित हेलिप्कोटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भईरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताउनु भयो । बिहीबार मन्त्री अधिकारी र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम उहाँले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गर्नुभएका मन्त्री अधिकारी, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उहाँहरुले अघि बढाउनु भएको राष्ट्र निर्माणको बाँकी कामलाई बाँचेकाहरुले पूरा गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले मन्त्रीको रुपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्नेगरी असाधारण काम गरेको स्मरण गराउनु भयो । उहाँले नेपालको पर्यटन, संस्कृति र नागरिक उडड्यनको क्षेत्रमा रविन्द्र अधिकारीले मन्त्रीको रुपमा निर्वाह गर्नु भएको भूमिका अविष्मरणीय रहिरहने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रुपमा चित्रण गर्नुभयो ।

Advertisment