रेशम चौंधरीलाई जन्मकैद गर्ने फैसलाको विरोधमा थारु संघ संगठनले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा थारु संघ संगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटलगायतका संघ, संगठनहरुले अदालतको फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरुमाथि राज्यले ठूलो अत्याचार र दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले टिकापुर हत्याको घटनामा आफूहरुको संलग्नता नभएको भन्दाभन्दै पनि अहिले आएर निर्दोष सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । टिकापुर घटना व्यक्तिगत नभई राजनीतिक भएकाले त्यसको समाधान पनि राज्यले राजनीतिक रुपमा गर्नुपर्ने अध्यक्ष चौधरीको माग छ ।

Advertisment