सरकारविरुद्ध आन्दोलन गर्छौ – सभापति देउवा

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवन उद्घाटन कार्यक्रममा सभापति देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उहाँको आरोप थियो । “राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको सभापति देउवाले बताउनु भयो। दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा कांंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गर्नुभयो । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाउनुभयो । उहाँले वाइडबडी, सुनकाण्ड जस्ता अर्बौँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको बताउनुभयो ।

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले कांग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

Advertisment