‘सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न सुझाव’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिनुभएको थियो । सहमतिले राज्यलाई कमजोर पार्छ कि भन्ने चिन्ता लिन आवश्यक नभएको बताउँदै मन्त्री थापाले देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना नगरेको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री थापाले मुलुकमा स्वतन्त्र र स्वाधीनताको नाममा विखण्डन गर्ने र राज्य सशक्तिलाई उल्टाउने दुई खाले समूह सक्रिय रहेकामा नेपाललाई विखण्ड गर्ने भनेर हिँडिरहेको समूहले नेपालको सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वाेपरी मान्छौं भन्नेमा पुग्नु स्वभाविक रुपमै राष्ट्रहितको पक्षमा रहेको स्पष्ट गर्नुभयो । राष्ट्रको स्वाधिनता, अखण्डताको र स्वतन्त्रताको रक्षा गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै उहाँले मुुलुकका सामु चुनौतीका रुपमा रहेको विषयलाई सम्बोधन गर्ने सन्दर्भमा भएको सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न पनि सुझाव दिनुभयो ।

उहाले मधेश आन्दोलनलगायत अरु आन्दोलनका समयमा गठन गरेका छानबीन आयोगका प्रतिवेदन आवश्यकताअनुसार सार्वजनिक गर्न सकिने पनि बताउनुभयो ।

Advertisment